Friday, June 5, 2020

हराएका जिवनहरु


सानो थियो गाउँ एकाध घरहरु थिए यता सय भन्दा धेरै कम संख्यामा होमो सेपियन्सहरु विचरण गर्दथे यी सेपियन्सहरुले जिवन निर्वाह गर्न बाख्रा, कुखुरा, गाई, भैँसी आदी घरपालुवाहरु गरेर जम्मा जम्मी केही सय गैर सेपियन्स जनावरहरु पालेका हुँदा हुन्, सायद दश बिस प्रजातीका वनस्पतिहरु खेती गरिन्थे होला वातावरण जैविक विविधतामाथी चाप परेकै थियो, तर थोरै

माया लाग्थ्यो, जंगली जनावरहरुको, जंगलमा हुर्किरहेका रुख बिरुवाहरुको गाई बाख्रा चराइन्थ्यो घाँस दाउरा गरिन्थ्यो प्रकृतिमै पूर्ण निर्भर थियौँ प्रकृतिको संरक्षण उपयोग धेरथोर सन्तुलनमै चलिराखेको थियो

गाउँको भूगोल चिरेर राजमार्ग जिल्ला सदरमुकाम जोड्ने सडक निर्माण भयो सडक वरपर दुई चार घरहरु थपिए यात्रुहरुलाई भात खुवाउने रेष्टुरेन्टहरु खुले केही पसलहरु थपिए दाउराका लागि जंगलका रुखहरु काटिन थाले घरको भकारीमा पैसा थुपार्न जंगलको भकारीका वनस्पतिहरुको दोहन गर्नुपर्ने भयो

केही वर्षपछि सडक कालोपत्रे भयो स्वाभाविक रुपमा सुविधाभोगी सेपियन्सहरु विभिन्न बहानामा गाउँबाट रोडसाइड झर्न थाले सेपियन्सको भिड हुन थाल्यो भुँडीको संख्या थपियो ती भुँडीहरु भर्नका लागि खेतीपाती गर्न जंगल फाँडिए प्रकृतिको माया घट्दै गयो आपका बापका, प्रकृति दोहनले प्रतिस्पर्धाको रुप लियो

स्वादे जिब्राहरुले अरिंगालको गोला खोजे, पोलेर झारे, भुटेर खाए जिब्रो फट्कारे

फुर्सदिला हातहरु भरुवा बन्दुक गुलेली लिएर जंगल छिरे भेटेसम्म मृग, खरायो, ढुकुर, कालिज, लुईँचे नभेटे सारौँ भए पनि शिकार गरे, मर्दांगी देखाए, नाक फुलाए एक छाक दाँत कोट्याउने मेलो बनाए
जंगलमा आगो लगाउनु सामान्य दृश्यावलि बन्न थाल्यो - बारी विस्तार गर्न मनोरञ्जनका लागि चितुवा लखेट्न दुम्सी मार्न लापरवाही गरेर अर्को वर्ष घाँस पलाउला भनेर पड्के च्याउ उम्रेला स्वाद लिउँला भनेर

एकपटक एक परिवारले खेत सिँचाई गर्न खनेको पोखरीमा माथी पाखादेखी गुँडुल्किँदै झरेको निर्दोष सालक फस्यो पोखरीमा साल माछा पर्यो भनेर गाउँ नै उल्टियो घोचाले हानी हानी मारे पुरा गाउँ युद्ध नै जितेको मुडमा आयो एक जनाको भागमा मुस्किलले एक चोक्टा पर्यो केहीले खबटामा चित्त बुझाए

यस्ता निर्मम घटनाका कैयन् एपिसोडहरु भोग्दै समयको श्रृंखला कट्दै गए

आक्कल झुक्कल बाख्रा चराउन जाँदा दुर्लभ गोहोरो बारीका कुनाकानी दौडिरहेको देख्थेँ मन रमाएर गोहोरो भन्दा छिटो दौडन्थ्यो चिकेन, मटन, पोर्क, बफ खाएर पनि अतृप्त रहेका जिब्राहरुले भेटे त्यसलाई पनि बाँकी राख्दा रहेनछन् हरे शिव !

खोलामा विष हालेर, बम हानेर, करेन्ट लाएर प्रशस्त माछा मार्ने सहज तौर तरिकाहरुले जाल खेल्ने, बल्छी थाप्ने, थाल थाप्ने, कुर खेल्ने, घन हान्ने, दुवाली छेक्ने जस्ता परम्परागत तुलनात्मक रुपमा पर्यावरण्ीय सन्तुलन कायम राख्ने विधिहरुलाई विस्थापित गर्न थाले जमिनका भन्दा बढीसंवेदनशिल हुने खोलाका जिवनहरु मासिए

मानिसको लोभी मन ! थोरैले नपुग्ने, धेरै ओगट्ने पुगेस् पुगेस्ले पुगेन पेट भर्नेगरी खायो, बढी भाको फालिदियो बाल ?!

सर्पदंशका सत्यहरु वषौँको अन्तरालमा आक्कल झुक्कल सुनिने कुरा थियो तर खेतमा भ्यागुता, मुसा खाइदिएर गुन लाउन हिँडेका नागहरु मानिसका आँखा अगाडी आइपुगे भने रोज मारिन्थे भलै नागपञ्चमीमा दैलोमाथी नागको तस्बिर टाँगिन्थयो नागको मुर्तिले दुग्ध स्नान भेट्थ्यो ढोँगी सेपियन्स !

केही सचेत मनहरु चिन्तातुर हुन्थे समस्याको जड अशिक्षा गरिबीलाई मान्थे गाउँ गाउँमा विद्यालय कलेजहरु खुले मानिसहरु पढे शिक्षित भए

यही लक डाउन ताका देखेँ -स्नातक स्नातकोत्तरहरु करेन्ट लाउँदै माछा मार्न व्यस्त थिए जलीय पारिस्थितिकीय प्रणालीको महत्वबारे आधारभुत तहमा पढाइ हुन्छ शिक्षित सम्पन्न व्यक्तिहरु हातमा गुलेली बोकेर जंगलबाट फर्कँदै थिए देशका कणर्धारहरु निराश भएर एउटा ढुकुर पनि नभेटेकोमा गुनासो गर्दै थिए हाय शिक्षा !

युवाहरु शहरमुखी विदेशमुखी शहरमा रहेका जिब्राहरु गाइ भैँसीको शुद्ध घिउ खोज्छन् बुढा बाउआमाहरु कुप्रिदैँ जंगल छिर्छन् रुख चढेर स्याउला झार्न सक्दैनन् बौरा ! फेदैदेखी सालका लुंगुराहरु गिँडाइदिन्छन् भारी पुर्याउँछन् शहरमा रहेका निष्ठुर सुविधाभागीहरुलाई पाथीका पाथी दही, दुध, घिउका कोसेली पुर्याएर सन्तान सुख खोज्दछन् साल अन्य वनस्पतिहरु, अनि तिनमा आश्रित प्राणिहरु सन्तान सुख नै भोग्न  नपाई शहिद हुने भए

बोटै पिच्छे फरक स्वाद पाइने आँपका बुटाहरु घट्दै गए अमलाका बुटा आक्कल झुक्कल भेटिन्छन् करमका बुटाहरु रोगाएर खण्डहर जस्तै देखिन थालेका छन् पालुवा लाग्न नपाउँदै निमोठिएर होलान्, शायद सयौँ वनस्पतिहरु मैले पहिचान स्मरण गर्न नपाउँदै लोप भइसकेका होलान्

भ्यागुताहरुको ट्वार्र ट्वार्रको लाउडनेस घट्दै गएको कति थरी सर्पहरु भेटिन्थे आइसल्याण्डमा भन्दा दुर्लभ छन् अहिले गोहोरो देखिएकै छैन।

खजुरो, बिच्छी, झ्याउँकिरीका प्रजातीहरु पनि घट्दै गएका रहेछन्
हुँचिलको हुँ हुँ सुनिएको छैन ठेउवाको ठ्याँ ठ्याँ सुन्न कान तिर्खाइरहेको तित्राको तिन तारे तिरित्आक्कल झुक्कल मात्र सुनिन्छ, कतै कतै

चितुवा छैनन् होला घरपालुवा जनावरहरुलाई आक्रमण गरेको खबर सुनिएको छैन तै तै बाँदरहरु चाहिँ प्रशस्तै छन् बाली जोगाउन हम्मे हम्मे परेको गोडा दोएक चितुवाहरु जंगलमा बँचेका हुन्थे बाँदरको पनि दुहाई हुन्थ्यो होला

रैथाने बालीहरु पनि बाँकी छैनन् है बढी उत्पादन दिने तर बिउ जगाउन नसकिने, वर्षेनी किन्नुपर्ने हाइब्रिड वा विकासेको जगजगी ठूला ठूला घोगा फलेको देखेर जुँगा मुसार्ने कृषकहरु रासायनिक मल, विषादी नभई उत्पादन नदिने यी विकासेको स्याहारमा ऋण ठेक्न बाध्य छन्

केही वर्षको अन्तरालमा हो, यो दुर्घटनाको सुस्त तिव्र रुप देखिन थालेको अर्धचेत, अचेत सचेतहरुले धरीे चेतेका चाहिँ छैनन् है हराएका जिवनहरुको सायद लेखाजोखा पनि गरेका छैनन् कारण - विकल्प अझै प्रशस्त देखिएका छन् तर जिवहरु लोप हुँदै जाँदा बाँकी बचेका जिवहरु पनि बढी जोखिममा पर्दै जाने लोप हुने दरले ज्यामितीय रुप लिने पर्यावरणको सामान्य नियम कसले कसलाई बुझाउने ?

सन् २०२० को विश्व वातावरण दिवसको दिन यस्तै पिडादायी चिन्तनमा बित्यो तपार्इँको नी ?