Tuesday, September 22, 2020

हिमताल विष्फोटनको खतरा बढ्दो

विश्वव्यापी तापमान वृद्धिका कारण विश्वभरका हिमतालहरुको संख्या  र आयतन बढ्दै जाँदा हिमाली क्षेत्रका मानव बस्तीहरुमाथी जोखिम बढ्दै गएको छ । हिमनदीहरु खुम्चिँदै गइरहेका छन् भने हिमतालहरुको संख्या, आकार र आयतन बढ्दै गएको छ ।

हालसालै विश्वविख्यात विज्ञान पत्रिका "नेचर"मा क्यानडाको एक विश्वविद्यालयका अनुसन्धाताहरुले गरेको अनुसन्धानको हवाला दिँदै एक लेख प्रकाशित भएको छ । लेखमा प्रकाशित एक तथ्यांकका अनुसार पछिल्ला तीन दशकमा पृथ्वीभरका हिमतालहरुको आयतनमा करिब ५० प्रतिशतले वृद्धि भएको छ ।

यस अनुसन्धानमा अन्टार्कटिका बाहेकका पृृथ्वीभरका २५०,००० भन्दा बढी हिमतालहरुको अध्ययन गरिएको थियो । सन् १९९० देखि २०१८ सम्मको अवधिमा हिमतालहरुको स‌ंख्या ९,४१४ बाट बढेर १४,३९४ पुगेको पाइयो । यी हिमतालहरुको सतहको जम्मा क्षेत्रफल ५१ प्रतिशतले वृद्धि हुँदा आयतनमा भने ४८ प्रतिशतले वृद्धि भएको पाइएको छ ।

हिमतालहरुको आकारमा यसरी अस्वाभाविक वृद्धी हुँदा तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम बढ्दै गएको छ । हिमतालहरु कमजोर र खुकुलो भूधरातलमा अवस्थित हुने भएकाले तालमा पानीको मात्रा बढ्दा विष्फोटनको खतरा पनि बढी हुन्छ । 

नेचरमा प्रकाशित लेख पढ्न तल दिइएको लिंकमा क्लिक गर्नुहोला ।

https://www.nature.com/articles/d41586-020-02560-6

Saturday, July 11, 2020

बाढी र पहिरोको वितण्डा: कहाँ चुक्यौँ हामी ?



यो लेख लेख्न बस्दा काठमाण्डौका साथै देशका विभिन्न स्थानमा भारी वर्षा भइरहेको छ । ठाउँ ठाउँमा बाढी र पहिरोले व्यापक मात्रामा धनजनको क्षति गरेको समाचार पढ्नु परिरहेको छ । पुरा राज्यशक्ति कोभिड -१९ को महामारी विरुद्ध एकत्रित भइरहेको समयमा पनि वर्षा र वर्षाजनित विपद् बाढी र पहिरोले भने हामीप्रति थोरै मात्र पनि दयाभाव नराखी कहर वर्षाइरहेका छन् ।
गृह मन्त्रालयको विपद् व्यवस्थापन सम्बन्धी वेब प्लाटफर्म डिआरआर पोर्टलका अनुसार पछिल्लो एक सातामा मात्र देशभर पहिरोका ५५, भारी वर्षाका १३ र बाढीका ५ वटा घटनाहरु दर्ज भएका छन् ।  २५ र २६ गते दुई दिनमा मात्र गण्डकी, कर्णाली र प्रदेश नं ५ का विभिन्न जिल्लाहरु लगायत देशका विभिन्न स्थानमा गएको पहिरोमा कम्तीमा २६ जना मारिएका छन् भने ४१ जना बेपत्ता भएका छन् ।
जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाका अनुसार मनसुनको प्रभाव अझ बढ्दै जाँदा वर्षाको मात्रा अझ बढ्ने र बाढी पहिरोबाट हुने क्षतिको मात्रा पनि बढेर जाने देखिन्छ । कुल जनसंख्याको ६८ प्रतिशतभन्दा बढी जिविकोपार्जनका लागि कृषिमा आश्रित भएको देशमा हामी धर्मसंकटमा बाँच्नुपरेको छ । वर्षा नहुँदा भोकभोकै बाँच्नुपर्ने, अधिक वर्षा हुँदा जनधनको क्षति व्यहोर्नुपर्ने । हामीलाई चाहिने ठीक्क मात्रामा प्रकृतीले वर्षा गराइदिए त हुन्थ्यो, तर यो फगत एक कल्पना न हो ।
प्राकृतिक रुपमै हामी बाढी र पहिरोको ठूलो जोखिममा छौँ । वर्षभरी हुने जम्मा वर्षाको ८० प्रतिशत भन्दा बढी त मनसुनका ३ महिनामा मात्र हुन्छ । भौगर्भिक हलचलका कारणबाट अस्थिर र कमजोर भूधरातल निर्माण भएको छ । त्यसमाथी मानवीय अज्ञानता र लापरवाही जोडिन आउँदा जोखिम झनै बढेको छ ।
अधिकांश भूभाग भिरालो सतहले अगटेको छ । गुरुत्वबलको कारण नै यी भीराला जमिनका ढुङ्गा र माटो तलतिर तानिइरहेका हुन्छन् । सतह मुनीको विशाल इण्डियन प्लेट झनै विशाल तिब्बती प्लेटमुनी घुस्रिँदै गएको कारणबाट निर्माण भएका हाम्रा पहाडहरु विश्वको अन्यत्रका पहाडका तुलनामा नयाँ र कमजोर प्रकृतीका छन् । भौगर्भिक हलचलका कारण हाम्रो भूसतह अस्थिर र कमजोर बन्न गएको छ । तसर्थ हाम्रा पहाडहरुमा पहिरो प्राकृतिक रुपमा नै एक स्वाभाविक र अवश्यम्भावी प्रकोप बन्न पुगेको छ ।
पहाडी क्षेत्रमा रहेको उचाइको तिव्र विविधताले गर्दा हिमाल, पहाड र चुरेलाई मुहान बनाएर बहने हजारौँ नदीहरु तिव्र गतिमा बहने गर्छन् । तिव्र गतिमा बहँदा यी नदी, खोला, खहरे र खोल्सीहरुले पहाडका फेद काटेर आफूसँग कोसेली ठूलो मात्रामा गेग्र्यान लिएर तराई झर्छन् । तराईको समथर मैदानमा ती गेग्र्यानको बिस्कुन फिँजिँदा नदीको सतह बढ्न गएको छ । मनसुनको समयमा अत्याधिक वर्षा हुँदा नदीको सतहमा पानी बढी हुन गई छिमेकी खेती र बस्तीतिर पोखिने हुँदा बाढीको वितण्डा निम्तिन पुग्छ । यसरी पहाडमा पहिरो जस्तै तराईमा बाढी पनि प्राकृतिक रुपमा एक स्वाभाविक र नियमित प्रकोप बनेर रहेको छ ।
प्राकृतिक रुपमा नै अभिशापको रुपमा प्राप्त बाढी र पहिरोको प्रकोपको जोखिमलाई पछिल्लो समय मानवीय क्रियाकलापहरुले झनै बढाएका छन् । कलिला र कमजोर पहाडका फेदीहरुमा सडक निर्माण गरिँदा टाकुराका ढुंगा माटोको आधार काटिन पुगेको छ । सुस्तरी तलतिर घस्रिरहेको जमिनको सतह तिव्र रुपमा खस्न थालेको छ । जलवायु परिवर्तनका कारण मनसुनको समयमा वर्षाको उच्चता ‍(छोटो अवधिमा धेरै वर्षा हुने) झनै तिव्र हुँदा पहिरोको संख्यामा बढोत्तरी भएको छ ।
सडक निर्माण र बस्ती विस्तारका कारण उत्तरका हिमाल र महाभारत पर्वत श्रृंखला भन्दा पनि झनै युवा र कमजोर चुरे पर्वतको नाजुक जमिनलाई जोगाएर राखेका वनजंगलमाथी मानवीय चाप बढ्दै गएको छ । जसका कारण भूक्षयको मात्रामा तिव्रता आएको छ । चुरेबाट नदीहरु मनसुनको समयमा अत्याधिक मात्रामा गेग्र्यान बोकेर तराई जान्छन् । जसले तराईमा नदीको सतह अस्वाभाविक रुपमा बढाएको छ र बाढीको कहर निम्त्याएको छ ।
हामीलाई थाहा नभएको होइन, हामी बाढी र पहिरोको उच्च जोखिममा छौँ । वर्षेनी वर्षायाममा बाढी पहिरोका कारण ठूलो धनजनको क्षति भोग्नु परिरहेको छ । तर हामी नेपाली बिन्दास स्वभावका छौँ । विपद्को समयमा हाम्रो रुवाबासी सुनीनसक्नुको हुन्छ । तर केही समयपछाडी नै हामी त्यसलाई भुलिसक्छौँ । विपदबाट पाठ सिकेर आगामी दिनमा विपद्को जोखिम घटाउनेतर्फ हाम्रो ध्यान आवश्यक मात्रामा केन्द्रित हुन नसकेको कारणले नै आज यो अवस्था आएको हो ।
पहिरो टारेर टार्न नसकिने भूगोलमा सडक निर्माण गरिरहँदा पनि पर्याप्त मात्रामा रोकथामका क्रियाकलाप पनि सँगै सञ्चालन भइरहेको पाइँदैन । यो साल सडक खन्ने, अर्को साल नाली खन्ने, त्यसपछि कालोपत्रे गर्ने अनि पहिरो आएमा सोहोर्ने, तारजाली लगाउने प्रवृत्ती देखिन्छ । पहाडका फेदीहरुमा सडक ट्र्याक बनाउँदैदेखी पहिरो रोकथामका लागि आवश्यक संरचनागत र गैरसंरचनागत उपाय पनि अवलम्बन गर्दै जानु आवश्यक हुन्छ । अन्यथा सडक निर्माणमा भन्दा बढी लगानी पहिरो रोकथाममा लगाउनु पर्ने हुन्छ । सडक असुरक्षित बन्न पुग्छ । सडक दुर्घटनाहरु नियन्त्रण गर्न गाह्रो हुन्छ । सडक माथीका बस्ती, खेती र वातावरण पहिरोको चपेटामा परिरहन्छन् ।
स्थानीय तहमा स्थानीय सरकार र उपभोक्ता समितिहरुबाट निर्माण गरिएका सडक त सडक पनि होलान् तर त्यो भन्दा बढी काल हुन् । ती सडकहरु स्थानीय जैविक विविधताको विनाश, कृषियोग्य जमिनको विनाश, वातावरणीय ह्रास, जलश्रोतको संहारका साथसाथै बाढी पहिरोका पनि प्रमुख कारक बन्न पुगेका छन् । बिना कुनै वैज्ञानिक योजना अनियन्त्रित रुपमा पहाडको छाती चिरेर खनिएका यी संरचनाहरुले व्यापक मात्रामा भूक्षय निम्त्याइरहेका छन् । यीनले पहाडमा पहिरो खसाउने र नदीहरु मार्फत गेग्र्यान असारेर तल तराईमा बाढीको आतंक मच्चाउने काम गरिरहेका छन् ।
स्थानीय सरकारहरुले सडक खनेर खत्तम गरे भन्न खोजिएको भने होइन । जनताको घरदैलोमा नै सिंहदरबार पुग्दा पनि जनताले सडक, खानेपानी, विद्युत जस्ता विकासका पुर्वाधारहरुको स्वाद लिन पाएनन् भने अब कहिले लिने ? तसर्थ स्थानीय सरकारहरुले बुद्धिमत्तापुर्वक जनआकांक्षालाई सम्बोधन गर्दै पुर्वाधार निर्माण, वातावरण संरक्षण र सामाजिक समानता कायम गर्ने दिगो विकासको बाटो लिनुपर्छ । यसका लागि स्थानीय सरकारका राजनैतिक र प्रशासनिक नेतृत्वमा धैर्यता, विवेक र संयमको भने ठूलो आवश्यकता पर्दछ ।
२०७७ असार २७ गते


Monday, July 6, 2020

कर्मचारी मित्रहरू एक अर्काप्रति समभाव राख्नुहोस् !


संघीय निजामती सेवा विधेयक विभागीय मन्त्री र केही सदस्यहरूको असहमतिका बाबजुद हालसालै राज्य व्यवस्था समितिबाट पारित भएको छ । विधेयकका कैयन् प्रावधानहरू माथि असहमति राख्दै अधिकांश निजामती कर्मचारीहरू आन्दोलित भएका छन् । तथापि कर्मचारीका विभिन्न सेवा,समूह, तह, तप्काका विमतिहरू फरक फरक रहेका पाइन्छन् । यसैले आन्दोलन पनि टुक्रिएर झुन्ड झुन्डमा चलेको देखिन्छ ।

याे प्रशासन डट कममा प्रकाशित मेरो लेखकाे हिस्सा हो । पुरा लेख पढ्न तलकाे  लिंकमा  क्लिक गर्नुहोस् ।
https://www.prasashan.com/2020/07/04/184444/

Friday, June 5, 2020

हराएका जिवनहरु


सानो थियो गाउँ । एकाध घरहरु थिए । यता सय भन्दा धेरै कम संख्यामा होमो सेपियन्सहरु विचरण गर्दथे । यी सेपियन्सहरुले जिवन निर्वाह गर्न बाख्रा, कुखुरा, गाई, भैँसी आदी घरपालुवाहरु गरेर जम्मा जम्मी केही सय गैर सेपियन्स जनावरहरु पालेका हुँदा हुन्, सायद । दश बिस प्रजातीका वनस्पतिहरु खेती गरिन्थे होला । वातावरण र जैविक विविधतामाथी चाप त परेकै थियो, तर थोरै ।

माया लाग्थ्यो, जंगली जनावरहरुको, जंगलमा हुर्किरहेका रुख बिरुवाहरुको । गाई बाख्रा चराइन्थ्यो । घाँस दाउरा गरिन्थ्यो । प्रकृतिमै पूर्ण निर्भर थियौँ । प्रकृतिको संरक्षण र उपयोग धेरथोर सन्तुलनमै चलिराखेको थियो ।

गाउँको भूगोल चिरेर राजमार्ग र जिल्ला सदरमुकाम जोड्ने सडक निर्माण भयो । सडक वरपर दुई चार घरहरु थपिए । यात्रुहरुलाई भात खुवाउने रेष्टुरेन्टहरु खुले । केही पसलहरु थपिए । दाउराका लागि जंगलका रुखहरु काटिन थाले । घरको भकारीमा पैसा थुपार्न जंगलको भकारीका वनस्पतिहरुको दोहन गर्नुपर्ने भयो ।

केही वर्षपछि सडक कालोपत्रे भयो । स्वाभाविक रुपमा सुविधाभोगी सेपियन्सहरु विभिन्न बहानामा गाउँबाट रोडसाइड झर्न थाले । सेपियन्सको भिड हुन थाल्यो । भुँडीको संख्या थपियो । ती भुँडीहरु भर्नका लागि खेतीपाती गर्न जंगल फाँडिए । प्रकृतिको माया घट्दै गयो । आपका न बापका, प्रकृति दोहनले प्रतिस्पर्धाको रुप लियो ।

स्वादे जिब्राहरुले अरिंगालको गोला खोजे, पोलेर झारे, भुटेर खाए । जिब्रो फट्कारे ।

फुर्सदिला हातहरु भरुवा बन्दुक र गुलेली लिएर जंगल छिरे । भेटेसम्म मृग, खरायो, ढुकुर, कालिज, लुईँचे नभेटे सारौँ भए पनि शिकार गरे, मर्दांगी देखाए, नाक फुलाए । एक छाक दाँत कोट्याउने मेलो बनाए ।
जंगलमा आगो लगाउनु सामान्य दृश्यावलि बन्न थाल्यो - बारी विस्तार गर्न । मनोरञ्जनका लागि । चितुवा लखेट्न । दुम्सी मार्न । लापरवाही गरेर । अर्को वर्ष घाँस पलाउला भनेर । पड्के च्याउ उम्रेला र स्वाद लिउँला भनेर ।

एकपटक एक परिवारले खेत सिँचाई गर्न खनेको पोखरीमा माथी पाखादेखी गुँडुल्किँदै झरेको निर्दोष सालक फस्यो । पोखरीमा साल माछा पर्‍यो भनेर गाउँ नै उल्टियो । घोचाले हानी हानी मारे । पुरा गाउँ युद्ध नै जितेको मुडमा आयो । एक जनाको भागमा मुस्किलले एक चोक्टा पर्‍यो । केहीले खबटामा चित्त बुझाए ।

यस्ता निर्मम घटनाका कैयन् एपिसोडहरु भोग्दै समयको श्रृंखला कट्दै गए ।

आक्कल झुक्कल बाख्रा चराउन जाँदा दुर्लभ गोहोरो बारीका कुनाकानी दौडिरहेको देख्थेँ । मन रमाएर गोहोरो भन्दा छिटो दौडन्थ्यो । चिकेन, मटन, पोर्क, बफ खाएर पनि अतृप्त रहेका जिब्राहरुले भेटे त्यसलाई पनि बाँकी राख्दा रहेनछन् । हरे शिव !

खोलामा विष हालेर, बम हानेर, करेन्ट लाएर प्रशस्त माछा मार्ने सहज तौर तरिकाहरुले जाल खेल्ने, बल्छी थाप्ने, थाल थाप्ने, कुर खेल्ने, घन हान्ने, दुवाली छेक्ने जस्ता परम्परागत र तुलनात्मक रुपमा पर्यावरण्ीय सन्तुलन कायम राख्ने विधिहरुलाई विस्थापित गर्न थाले । जमिनका भन्दा बढीसंवेदनशिल हुने खोलाका जिवनहरु मासिए ।

मानिसको लोभी मन ! थोरैले नपुग्ने, धेरै ओगट्ने । पुगेस् पुगेस्ले पुगेन । पेट भर्नेगरी खायो, बढी भाको फालिदियो । बाल ?!

सर्पदंशका सत्यहरु वषौँको अन्तरालमा आक्कल झुक्कल सुनिने कुरा थियो । तर खेतमा भ्यागुता, मुसा खाइदिएर गुन लाउन हिँडेका नागहरु मानिसका आँखा अगाडी आइपुगे भने रोज मारिन्थे । भलै नागपञ्चमीमा दैलोमाथी नागको तस्बिर टाँगिन्थयो । नागको मुर्तिले दुग्ध स्नान भेट्थ्यो । ढोँगी सेपियन्स !

केही सचेत मनहरु चिन्तातुर हुन्थे । समस्याको जड अशिक्षा र गरिबीलाई मान्थे । गाउँ गाउँमा विद्यालय र कलेजहरु खुले । मानिसहरु पढे । शिक्षित भए ।

यही लक डाउन ताका देखेँ -स्नातक र स्नातकोत्तरहरु करेन्ट लाउँदै माछा मार्न व्यस्त थिए । जलीय पारिस्थितिकीय प्रणालीको महत्वबारे आधारभुत तहमा पढाइ हुन्छ । शिक्षित र सम्पन्न व्यक्तिहरु हातमा गुलेली बोकेर जंगलबाट फर्कँदै थिए । देशका कणर्धारहरु निराश भएर एउटा ढुकुर पनि नभेटेकोमा गुनासो गर्दै थिए । हाय शिक्षा !

युवाहरु शहरमुखी । विदेशमुखी । शहरमा रहेका जिब्राहरु गाइ भैँसीको शुद्ध घिउ खोज्छन् । बुढा बाउआमाहरु कुप्रिदैँ जंगल छिर्छन् । रुख चढेर स्याउला झार्न सक्दैनन् बौरा ! फेदैदेखी सालका लुंगुराहरु गिँडाइदिन्छन् । भारी पुर्‍याउँछन् । शहरमा रहेका निष्ठुर सुविधाभागीहरुलाई पाथीका पाथी दही, दुध, घिउका कोसेली पुर्‍याएर सन्तान सुख खोज्दछन् । साल र अन्य वनस्पतिहरु, अनि तिनमा आश्रित प्राणिहरु त सन्तान सुख नै भोग्न  नपाई शहिद हुने भए त ।

बोटै पिच्छे फरक स्वाद पाइने आँपका बुटाहरु घट्दै गए । अमलाका बुटा आक्कल झुक्कल भेटिन्छन् । करमका बुटाहरु रोगाएर खण्डहर जस्तै देखिन थालेका छन् । पालुवा लाग्न नपाउँदै निमोठिएर होलान्, शायद । सयौँ वनस्पतिहरु त मैले पहिचान र स्मरण गर्न नपाउँदै लोप भइसकेका होलान् ।

भ्यागुताहरुको ट्वार्र ट्वार्रको लाउडनेस घट्दै गएको छ । कति थरी सर्पहरु भेटिन्थे । आइसल्याण्डमा भन्दा दुर्लभ छन् अहिले । गोहोरो त देखिएकै छैन।

खजुरो, बिच्छी, झ्याउँकिरीका प्रजातीहरु पनि घट्दै गएका रहेछन् ।
हुँचिलको हुँ हुँ सुनिएको छैन । ठेउवाको ठ्याँ ठ्याँ सुन्न कान तिर्खाइरहेको छ । तित्राको “तिन तारे तिरित्”आक्कल झुक्कल मात्र सुनिन्छ, कतै कतै ।

चितुवा छैनन् होला र त घरपालुवा जनावरहरुलाई आक्रमण गरेको खबर सुनिएको छैन । तै तै बाँदरहरु चाहिँ प्रशस्तै छन् र बाली जोगाउन हम्मे हम्मे परेको छ । गोडा दोएक चितुवाहरु जंगलमा बँचेका हुन्थे त बाँदरको पनि दुहाई हुन्थ्यो होला ।

रैथाने बालीहरु पनि बाँकी छैनन् है । बढी उत्पादन दिने तर बिउ जगाउन नसकिने, वर्षेनी किन्नुपर्ने हाइब्रिड वा विकासेको जगजगी छ । ठूला ठूला घोगा फलेको देखेर जुँगा मुसार्ने कृषकहरु रासायनिक मल, विषादी नभई उत्पादन नदिने यी विकासेको स्याहारमा ऋण ठेक्न बाध्य छन् ।

केही वर्षको अन्तरालमा हो, यो दुर्घटनाको सुस्त र तिव्र रुप देखिन थालेको । अर्धचेत, अचेत र सचेतहरुले धरीे चेतेका चाहिँ छैनन् है । हराएका जिवनहरुको सायद लेखाजोखा पनि गरेका छैनन् । कारण - विकल्प अझै प्रशस्त देखिएका छन् । तर जिवहरु लोप हुँदै जाँदा बाँकी बचेका जिवहरु पनि बढी जोखिममा पर्दै जाने र लोप हुने दरले ज्यामितीय रुप लिने पर्यावरणको सामान्य नियम कसले कसलाई बुझाउने ?

सन् २०२० को विश्व वातावरण दिवसको दिन यस्तै पिडादायी चिन्तनमा बित्यो । तपार्इँको नी ?