नेपालका राजनीतिक दलहरूले बाटो बिराए। राजनीतिलाई केवल सत्ता चढ्ने भर्याङ मात्र बनाए। यसका लागि चुनाव अघि र चुनाव पछि जस्तोसुकै किसिमका अप्राकृतिक गठबन्धन गर्न पनि पछि परेनन्। हो, राजनीतिक दलका एजेण्डा लागु गर्नका लागि सत्ता महत्वपूर्ण र प्रभावकारी माध्यम हो। तर राजनीति भनेको केवल सत्ता राजनीति मात्र होइन। नेपालका राजनैतिक दलहरूले राजनीतिलाई जनतासँग जोड्न छोडेको धेरै भयो। सामाजिक, आर्थिक, सांस्कृतिक, वातावरणीय जस्ता मुद्दाहरूमा राजनैतिक दलले बहस, छलफल, अभियान छेड्नुपर्नेमा केवल सरकारमा जाने र सत्तासुखभोग गर्नेमा केन्द्रित हुन थाले। राजनैतिक दलले आफ्नो सान्दर्भिकता गुमाए।
राजनैतिक दलले केवल सत्ता प्राप्तिको निमित्त
राजनीति गर्दा देखा परेका परिणामहरू यस प्रकार छन्।
सरकारको अस्थिरताः लोकतन्त्रमा प्रतिपक्षको
भूमिका महत्वपूर्ण हुन्छ।तिनले सदन र सडक मार्फत सरकारलाई खबरदारी गर्न सक्छन्।
स्वस्थ आलोचना मार्फत सरकारलाई बाटो बिराउन दिँदैनन्। सरकारका गतिविधिहरूलाई
नजिकबाट नियालेर पृष्ठपोषण, आलोचना, समालोचना, खबरदारी र सुझाव मार्फत सही मार्गमा
डोर्याउन भूमिका खेल्दछन्। सत्ताको शक्ति नहुँदा पनि तिनले समाज रूपान्तरणको काम
गर्न सक्छन्। समुदायस्तरदेखि नै विभिन्न क्रियाकलाप सञ्चालन गरेर चेतना र शिक्षाको
विस्तार गर्न सक्दछन्। शिक्षा, स्वास्थ्य, सरसफाई, सामुदायिक विकास जस्ता क्षेत्रमा
समुदायको तहदेखि नै रूपान्तरणका अभियानहरू थाल्न सक्दछन्। यसका लागि दलको
नेतृत्वले संगठनलाई प्रशिक्षित र उत्प्रेरित गर्नुपर्दछ। सरकारमा नरहेको अवस्थामा
पनि दलहरूले समाज रूपान्तरणको महान अभिभारालाई नेतृत्व दिन सक्दछन्।
तर नेपालमा के भयो? राजनैतिक दलले प्रतिपक्षमा बस्ने धैर्य नै गुमाउन
थाले। विभिन्न किसिमका अप्राकृतिक गठबन्धन बनाएर सरकार ढाल्ने र आफू सरकारमा पुग्ने अभिष्ट पूरा गर्नेदेखि
बाहेक अरु राजनैतिक गतिविधि ठप्प भयो। फलस्वरूप सरकारहरू अस्थिर बने। प्रतिपक्षको
भूमिका कमजोर बनेर गयो। विचार, सिद्धान्त, वाद केही पनि नमिल्ने दलका बिचमा सत्ता
प्राप्तिका लागि मात्रै गठबन्धन बन्न, भत्कन र बन्न थाले। परिणाम, नागरिक असन्तुष्टि
चुलिएर गयो। आम नागरिकमाझ राजनीति भनेको सत्ता प्राप्तिको फोहोरी खेल मात्र रहेछ
भन्ने धारणा निर्माण भयो। राजनीति र राजनैतिक दलप्रति नै तिव्र वितृष्णा सिर्जना
भयो। सरकारको अस्थिरताका कारण मुलुकको विकास र अर्थतन्त्र तथा कुटनीति र वैदेशिक
सम्बन्ध लगायत समग्र पक्ष प्रभावित भए।
जनतासँग बढ्दो दुरीः राजनैतिक दलहरू केवल सत्ता
प्राप्तिको राजनीतिमा व्यस्त रहँदा समाज र जनतासँग तिनको दुरी बढेर गयो। समुदायका
समस्याका बारेमा ती बेखबर बन्न थाले।सत्ता प्राप्तिमा सहयोग गर्ने बिचौलियाहरूबाट
घेरिएर रहन थाले। जनता र नेताबिचको खाडल बढ्दै गयो। चुनावका बेला भोट माग्न आउने
देखि बाहेक नेताको गाउँ आगमन दुर्लभ हुँदै गयो। समुदायमा राजनैतिक दलका गतिविधि
घट्दै घट्दै गयो। गाउँघरको विकासमा राजनैतिक दलको योगदान हराएर गयो। विकास भनेको
केवल सरकारले गरिदिने हो र यसका लागि दलहरू सरकारमै पुग्नुपर्छ भन्ने किसिमको गलत
धारणा सिर्जना भएर गयो। यसकारण जनता पनि सामान्य कामका लागि पनि सरकार वा एनजिओको
मुख पो ताक्न थाले।
हाम्रो समाज र सभ्यता यस चरित्रको थिएन। समुदाय आफैं एकत्रित भएर सानातिना समस्या आफैँ समाधान गर्दथे। अब समुदाय पराश्रित भएर गयो। राजनैतिक दलका समुदाय स्तरका संगठनको भूमिका प्रभावकारी बनाइनुपर्थ्यो। तिनले समुदायमा सामुदायिक पूर्वाधारको निर्माण र मर्मतसंभार, शिक्षा र चेतनाको विकास र विस्तार, वातावरणको संरक्षण, प्राकृतिक स्रोतको उपयोग, सांस्कृतिक सम्पदाको संरक्षण, सामुदायिक संस्थाहरूको विकास जस्ता काममा नेतृत्वदायी भूमिका खेल्नुपर्थ्यो। तर त्यसो हुन सकेन। उल्टो तिनले सत्ता प्राप्तिको फोहोरी खेलको समुदायको तहसम्म विकेन्द्रीकृत गरे र फलस्वरूप सामुदायिक विद्यालय व्यवस्थापन समिति, सामुदायिक वन व्यवस्थापन समिति जस्ता सामुदायिक संस्थाहरूमा पनि सत्ता प्राप्तिको लडाईँ मात्र हुन थाल्यो। फलस्वरूप, जनता राजनीति शब्दप्रति नै सशंकित र क्रुद्ध हुन थाले। जनता र समाजसँग राजनैतिक दलको दुरी थप बढ्दै गयो। परिणाम, लोकरिझ्याईँवादीहरूको लोकप्रियताको ग्राफ बढेर गयो। अब सत्ता लोकप्रियतावादी र खोक्रो राष्ट्रवादीहरूको कब्जामा जान सक्ने जोखिम उच्च भएको छ। यसको परिणाम झनै भयावह हुनेछ।
आन्तरिक लोकतन्त्रको अवसानः राजनीति केवल सत्ता प्राप्तिको भर्याङ बन्न पुग्दा दलहरूभित्रको लोकतन्त्र मृतप्रायः बन्न पुग्यो। सत्ता प्राप्तिको लागि गठबन्धन बनाउने र भत्काउने विषयमा सर्वाधिकार दलका शीर्ष नेता भनिएकाहरूलाई प्राप्त भयो। प्रमुख राजनैतिक दलहरूका शीर्ष नेताले जे निर्णय गर्दछन्, त्यही नै दलको निर्णय बन्न थाल्यो। दलभित्र प्रश्र र बहसको संस्कृति नामेट हुँदै गयो। सत्ता प्राप्तिको खेल खेल्न सक्ने खेलाडी मात्र दलभित्र हावी हुँदै गए। दलभित्र बहस, छलफल, नीति निर्माण, विचार र सिद्धान्तको सिर्जना जस्ता विषय गौण हुँदै गए। सत्ता प्राप्तीमा सहयोगी बन्नेहरू दलभित्र निर्णायक स्थानमा पुग्न थाले। इमान्दार, विद्वान, विचारक र त्यागी नेताहरू किनारा लाग्दै गए।दलको आन्तरिक लोकतन्त्रमा आएको ह्रास राज्यका अन्य संस्था र समुदायको तल्लो तहसम्म पनि प्रसारित हुन थाल्यो। फलस्वरूप समग्र लोकतन्त्रको गुणस्तरमा ह्रास आयो। लोकतन्त्रप्रतिको जनविश्वास क्षिण हुन गयो। यसको परिणाममा लोकरिझ्याईँवादी र राष्ट्रवादीहरूको लोकप्रियता बढेर गयो। अब देशको शासनसत्ता यस्ता सतही लोकप्रियतावादीको हातमा जाने खतरा बढेर गएको छ।
