Friday, August 16, 2019

चलचित्र: बाटला हाउस र निर्मला काण्ड

अहिले थिएटरहरुमा स्थापित कलाकार जोन अब्राहम द्वारा मुख्य भूमिका निर्वाह गरिएको हिन्दि चलचित्र "बाटला हाउस" प्रदर्शन भैरहेकोछ ।  सन् २००८ मा  दिल्ली प्रहरीद्वारा शृंखलाबद्ध बम काण्डका आरोपित आतंकवादीहरुमाथि भएको कारबाहीमाथि आधारित रहेर यो चलचित्र बनाइएको रहेछ । एउटा इमान्दार प्रहरी अधिकृतले कर्तव्यनिष्ठ  भएर जिम्मेवारी निभाइरहदा उमाथि उठ्ने प्रश्नहरु र सोझिने चोर औलाहरुवरिपरि  यो चलचित्र केन्द्रित छ ।

कुनै एउटा विश्वविद्यालयको विद्यार्थीको वेश धारण गरेर शहरमा आतंक मच्चाइरहेका युवाहरुलाई जब प्रहरीले कारबाही गर्दा, उनीहरु मारिन्छन र पक्राउ पर्छन, तब त्यस घटनामाथि राजनैतिक दलहरु राजनीति गर्न थाल्छन, मिडियाहरु टि आर पीको लागि मसला न्युज बनाउन थाल्छन, अनि अधिकारकर्मीहरु सडक तताउन थाल्छन । तर त्यस घटनामा मारिएको तथा घाइते भएका इमान्दार प्रहरीहरुमाथि कसैले समवेदना समेत व्यक्त गर्दैनन्। उल्टो प्रहरीले "फेक इन्काउन्टर" गरेको भनि प्रचारबाजी र विरोध गर्छन । यसबीचमा सो अनुसन्धान टोलीको संयोजक भएर काम गरिरहेको प्रहरी अधिकृत  संजय कुमार कसरि परिस्थितिको सामना गर्छ र सत्य स्थापित गर्छ भन्ने कुरालाई चलचित्रमा बडो रोचक ढंगले प्रस्तुत गरिएको छ ।

ज्यानको बाजी राखेर राष्ट्रको सेवामा खटिनु छ । समाजका किराहरुको सफाई गर्ने क्रममा आफ्ना सहकर्मी हरु गुमाउनुको पिडा मुटुमा गाठो परेर बसेको छ । कुन समय आफ्नो टिकट काटिने हो केहि पत्तो छैन । दिन रात केहि नभनी अनुसन्धान गरेको छ । तर जस पाउनुको सट्टा उल्टो आरोपहरुको सामना गर्नुपर्छ, इमान्दारितामाथि प्रश्न उठाइञ्छ । अनि कुन मनोबलका साथ् त्यो राष्ट्रसेवकले काम गर्न सक्ला? तर पनि त्यो प्रहरी अधिकृत आफ्नो कर्तव्यपथबाट विचलित हुदैन, अडिग भएर आफ्नो काममा लागि नै रहन्छ ।

batla houseको लागि तस्बिर परिणाम


यो चलचित्र हेरिरहदा मैले यसमा नेपालको चित्र पाउछु । उसै पनि छिमेकी राष्ट्र भारत र नेपालको समाज, राजनीति र प्रशाशनको संस्कृतिमा  खासै अन्तर भेट्दिन मा । विशेषगरी पछिल्लो समयको एउटा चर्चित काण्ड, "निर्मला पन्त बलात्कार र हत्या प्रकरण" मेरो दिमागमा आउछ । कसरि प्रहरीले अनुसन्धानको क्रममा संदिग्ध अपराधीहरुलाई पक्राउ गर्छ, कसरि सो घटनामा राजनीति गर्न राजनैतिक अभिष्ट लिएका व्यक्तिहरुले जनतालाई भड्काएर सडकमा ओराल्छन र आन्दोलनको रुप दिन्छन ? कसरि अधिकारकर्मी भनिएकाहरुले आफ्नो दुनो सोझ्याउन घटनामाथि मसला थपेर आफुलाई मिठो लाग्ने परिकार तयार गर्छन  ?

त्यसैगरी, कसरि एउटा इमान्दार प्रहरी अधिकृतको अनुसंधान माथि  प्रश्न उठाइञ्छ र अपराधीहरुलाई सजाय दिलाउनुको साटो प्रहरीहरुमाथि नै कारबाही हुने वातावरण बनाइञ्छ?  कसै प्रहरीबलको मनोबाल गिराइञ्छ? कसरि मिडियाले अनुसन्धानमा प्रहरीलाई सघाउने रिपोर्टिङ्ग गर्नुको साटो नियोजित प्रचारबाजी गरेर अनुसन्धानलाई अर्कै मोडतर्फ़ धकेल्छ भन्ने कुरा हिजो निर्मला काण्ड र यससंग जोडिएका घटनाक्रम हरुमा देखिएकै हो । आज बाट्ला हाउस हेरिरहदा मलाई निर्मला काण्ड लाइ केन्द्रमा राखेर नेपालका मिडिया, राजनैतिक दल र अधिकारकर्मीहरुले मन्चन गरेको नाटक हेरेको जस्तो लाग्यो ।
nirmala pantaको लागि तस्बिर परिणाम

किन प्रहरी बल दिनानुदिन कमजोर बन्दै गैरहेको छ? किन यसका अनुसन्धान हरु प्रभावकारी बनिरहेका छैनन्? चरम राजनैतिक हस्तक्षेप त आफ्नो ठाउ छदैछ, साथ साथ् हाम्रो समाजको मनोविज्ञानले पनि काम गरेको छ। हामि प्रहरीमाथि विश्वास नै गर्दैनौ, प्रहरिबलले  कठिन परिश्रम गरेर तयार गरेको अनुसन्धान प्रतिवेदनलाई  हामि विश्वास गर्दैनौ तर एउटा "प्रोपागाण्डिस्ट"ले  हचुवामा तयार गरेको "कन्स्पिरेसी थ्यौरी"लाइ विश्वास गरेर हामी त्यसलाई सत्य ठान्छौ र लह लहैमा लाग्छौं  ।

संचार माध्यमहरुलाई सत्य के हो भन्ने संग सरोकार नै छैन, उनीहरु त आमजनतामा रहेको प्रहरी विरोधी मनोविज्ञानलाई भजाएर समाचारको व्यापारमा मस्त छन् । राजनैतिक दलहरुलाई कसरि कुनै एक घटनाक्रमलाई तोडमरोड गरेर आफ्नो दललाई फाइदा पुर्याउने भन्ने संग मतलब छ । अधिकारकर्मिहरुलाई कसरि आफ्नो "बिजनेस" दिगो बनाउने भन्ने सरोकार छ ।

न्याय कसलाई चाहिएको छ ? यहा त सबैलाई आफ्नो स्वार्थ पूर्ति गर्नु छ। आ-आफ्नो व्यापार चम्काउनु छ ।

ज्यानको बाजी राखेर निस्पक्ष अनुसन्धान गरेर सत्य बाहिर ल्याउदा उल्टै आरोपको भागिदार हुनु पर्ने भए पछि प्रहरीहरुले पनि किन बेकारमा दुख गर्नु? भिडको पछि लागे भैगयो । जसो जसो पण्डित बाजे, उसै उसै स्वाहा गरे भैहाल्यो । सत्य कसैलाई पनि  थाहा पाउनुपरेको  छैन, सबैलाई त मसालेदार समाचार चाहिएको छ, जसबाट सत्य हैन, मनोरंजन पाउन सकियोस । 

Tuesday, February 19, 2019

उकुुसमुकुस- १: अपेक्षा, उपदेश र दुःख


गौतम बुद्धका अनगिन्ति उपदेशहरुमध्ये एउटा उपदेश मलाई बार बार सम्झना आउँछ ।

“अरुले गरेको जुन व्यवहार तिमीलाई मन पर्दैन, त्यो व्यवहार तिमी पनि अरुसँग नगर ।”

बुद्धको यो उपदेश म हरदम लागु गर्न कोशिस गरीरहन्छु । दुर्भाग्यवश यस विपरित व्यवहार म बाटै पटक पटक हुन्छ । यसका लागि म क्षमा चाहन्छु । हरेक पटक एकदम सोचेर र जाँच परख गरेर व्यवहार गर्न सम्भव नहुने रहेछ, यसकारण धेरैपटक अनायास कुनै क्रिया वा प्रतिक्रियामा मैले ग्रहण गरेका कतिपय दर्शन म बाट लागु नहुन पनि सक्छन् । यस्तो हुन नहुने हो तर लागु गर्ने कोशिस भने म बाट हरदम जारी नै रहन्छ ।
source of photo: https://www.artvault.co.in/product/lord-buddha-2/ 

यसमा अर्को कुरा के पनि जोडिन आउँछ भने जान्नु र व्यवहारमा उतार्नु अलग कुरा हुन् । कुनै कुरा जान्दैमा व्यवहारमा त्यो प्रकट नहुन पनि सक्छ । तथापी कुनै ज्ञान ग्रहण गरेर जिवनमा लागु गर्न उपयुक्त हुन्छ भन्ने कुरा महसुस गरीसकेपछी भने सो कुरालाई लागु गर्ने तर्फ नै हर प्रयत्न  केन्द्रित हुनुपर्छ । यसका बावजुद समयको बहाव सँगै परिवर्तन हुने समय सापेक्ष कतिपय कुराहरुलाई अद्यावधिक गर्दै लैजानु आवश्यक पनि देख्छु म ।

ज्ञान ग्रहण गर्ने कुरा पनि मानिस पिच्छे फरक हुँदोरहेछ । एकै सुचनाबाट पनि मैले निकाल्ने निस्कर्ष र तपाईँले निकाल्ने निस्कर्ष फरक हुन सक्छ । सुचना ग्रहण गर्ने क्रममै सुचनालाई कसरी ग्रहण गर्ने, कति ग्रहण गर्ने, कसरी विश्लेषण गर्ने र कस्तो निस्कर्ष निकाल्ने कुरा व्यक्तिपिच्छे नै फरक हुनुमो निजको मेन्टल मोडेलको भुमिका रहन्छ । बालक जन्मेर यस धर्तीमा आइसकेपछि उसले प्राप्त गर्ने वातावरणमा मेन्टल मोडल निर्भर हुन्छ ।
वयस्क अवस्थामा आइपुग्नु भन्दा पहिल्यै उसले एक किसिमको मेन्टल मोडेल तयार गरिसकेको हुन्छ ।

मेन्टल मोडेल कस्तो हुने भन्ने कुरा व्यक्तिले प्राप्त गर्ने आहार विहार, प्राकृतिक वातावरण, पारिवारिक तथा सामाजिक परिवेश, संस्कार, शिक्षा दिक्षा, हुर्काइको तौर तरिका लगायतका धेरै मिहिन पक्षहरुमा भर पर्ने हुँदा व्यक्ति पिच्छे नै यो फरक हुन जान्छ । यद्यपि दुई वा दुई भन्दा बढी मानिसहरुका मेन्टल मोडेल बिच केही आधारभुत कुराहरुमा समानता भने रहन सक्छ नै ।

यसर्थ प्रकृति र समाजबाट प्राप्त हुने सुचनाबाट कस्तो निस्कर्ष निकाल्ने भन्ने कुरा व्यक्तिको मेन्टल मोडेलमा भर पर्दछ । राम्रो वा नराम्रो, ठीक वा बेठीक, सकारात्मक वा नकारात्मक भन्ने कुराहरु सापेक्षिक कुरा हुन् । एकै वस्तु वा तथ्य पनि मलाई राम्रो लाग्न सक्छ भने यहाँलाई नराम्रो लाग्न सक्छ त्यस्तै तपाईँलाई ठीक लागेको कुरा मलाई मन नपर्न पनि सक्छ । संसारमा हरेक मानिसका भिन्न रोजाईहरु छन् । तपाइँँले जसरी सोच्नुहुन्छ, मैले त्यसरी सोच्नुपर्दछ भन्ने छैन । यसको अर्थ, म सही तपाइँ गलत भन्ने पनि हैन । सही वा गलत सापेक्षिक कुराहरु हुन् ।
यहि कुरा नै म ग्रहण गर्ने कोशिस गर्दैछु ता की मलाई अरु व्यक्तिहरुसँग अपेक्षा उत्पन्न नहोस् । मैले सोचेझैँ अरुले पनि सोचिदिए हुन्थ्यो भन्ने सोचाइले अरु व्यक्तिहरुसँग मैले अपेक्षा राख्न थाल्दछु । तर हरेक व्यक्तिको मेन्टल मोडेल फरक हुने हुनाले उसको सोच र व्यवहार मेरो अपेक्षासँग मेल खाँदैन । अनि म दुःखी हुन्छु, निराश हुन्छु । दुःख र निराशाको कारण नै अपेक्षा त हो । यस्तो भैदिए हुन्थ्यो, उसले यस्तो सोचिदिए हुन्थ्यो, उसले यस्तो गरिदए हुन्थ्यो भन्ने प्रकारका अपेक्षाहरुको सिर्जना जब म गर्न थाल्छु  तब त्यस्तै त हुँदैहुँदैन ,अनि म निराश हुन थाल्छु । दुःखी हुन थाल्छूु ।
source of photo: https://www.saatchiart.com/art/Painting-Sad-Man/840574/3762141/view

यही अपेक्षाको सिर्जना सँगै उपदेशको प्रसंग पनि शुरु हुन्छ , जुन मैले शूरुमै उल्लेख गरेको गौतम बुद्धको उपदेशको प्रसंगसँग मिल्न जान्छ ।

म अरुसँग त्यो व्यवहारको अपेक्षा गर्दछु, जुन व्यवहार म आफैँ चाहीँ गर्दिन भने त्यो कति युक्तिसंगत होला ? अथवा म अरुसँग त्यो व्यवहार नगरोस् भन्ने चाहना राख्छु, जुन म आफैँ गरिरहेको हुन्छु । आफ्नो आङको भैँसी नदेख्ने, अरुको टाउको जुम्रा पनि देख्ने?? आफ्ना कमी कमजोरीलाई चाहीँ नजर अन्दाज गर्ने वा तिनलाई आफ्नो सामथ्र्यकै रुपमा लिएर घमण्ड गर्ने, अनि अरुले चाहीँ सुध्रिनुपर्छ भन्ने अपेक्षा राख्ने ? अनि त्यो अनुचित अपेक्षा अरुबाट पुरा होस् भनेर उपदेश दिन थाल्ने ।

"तिमीले यसो गर्नुपर्दछ । तिमीले यसो गर्नुहुँदैन ।"

ए बाबा ! हरेक व्यक्तिका आफ्ना स्वभाव हुन्छ, रुची हून्छ, आफ्नै मेन्टल मोडल हुन्छ । तसर्थ उसका चाहना, रुची, इच्छा, बोली व्यवहार म भन्दा फरक हुन्छ भन्ने तथ्यलाई भुलेर म किन उ सँग अपेक्षा राखिरहेको छु ? अनि त्यो अपेक्षा उ बाट पुरा गराउन म किन उसलाई उपदेश दिइरहेको छु ? जुन कुरा म उपदेश दिइरहेको छु, त्यही कुरा मैले चाहीँ लागु गरिरहेको छु त ? अझ मैले लागु गरेकै भए ता पनि त्यही कुरा बाँकी दुनियाले पनि गर्नुपर्छ भन्ने मेरो चाहना हो ? हो भने म गलत छु, मैले आफूलाई सुधार्नै पर्दछ । मैले मेरो दृष्टीले देखेको मात्र ठीक, अरु सब बेठीक भन्ने सोच त्याग्नैपर्दछ । फेरी यो सब अरुको खुसीका लागी हैन , मेरै खुसीका लागि हो ।