Tuesday, February 19, 2019

उकुुसमुकुस- १: अपेक्षा, उपदेश र दुःख


गौतम बुद्धका अनगिन्ति उपदेशहरुमध्ये एउटा उपदेश मलाई बार बार सम्झना आउँछ ।

“अरुले गरेको जुन व्यवहार तिमीलाई मन पर्दैन, त्यो व्यवहार तिमी पनि अरुसँग नगर ।”

बुद्धको यो उपदेश म हरदम लागु गर्न कोशिस गरीरहन्छु । दुर्भाग्यवश यस विपरित व्यवहार म बाटै पटक पटक हुन्छ । यसका लागि म क्षमा चाहन्छु । हरेक पटक एकदम सोचेर र जाँच परख गरेर व्यवहार गर्न सम्भव नहुने रहेछ, यसकारण धेरैपटक अनायास कुनै क्रिया वा प्रतिक्रियामा मैले ग्रहण गरेका कतिपय दर्शन म बाट लागु नहुन पनि सक्छन् । यस्तो हुन नहुने हो तर लागु गर्ने कोशिस भने म बाट हरदम जारी नै रहन्छ ।
source of photo: https://www.artvault.co.in/product/lord-buddha-2/ 

यसमा अर्को कुरा के पनि जोडिन आउँछ भने जान्नु र व्यवहारमा उतार्नु अलग कुरा हुन् । कुनै कुरा जान्दैमा व्यवहारमा त्यो प्रकट नहुन पनि सक्छ । तथापी कुनै ज्ञान ग्रहण गरेर जिवनमा लागु गर्न उपयुक्त हुन्छ भन्ने कुरा महसुस गरीसकेपछी भने सो कुरालाई लागु गर्ने तर्फ नै हर प्रयत्न  केन्द्रित हुनुपर्छ । यसका बावजुद समयको बहाव सँगै परिवर्तन हुने समय सापेक्ष कतिपय कुराहरुलाई अद्यावधिक गर्दै लैजानु आवश्यक पनि देख्छु म ।

ज्ञान ग्रहण गर्ने कुरा पनि मानिस पिच्छे फरक हुँदोरहेछ । एकै सुचनाबाट पनि मैले निकाल्ने निस्कर्ष र तपाईँले निकाल्ने निस्कर्ष फरक हुन सक्छ । सुचना ग्रहण गर्ने क्रममै सुचनालाई कसरी ग्रहण गर्ने, कति ग्रहण गर्ने, कसरी विश्लेषण गर्ने र कस्तो निस्कर्ष निकाल्ने कुरा व्यक्तिपिच्छे नै फरक हुनुमो निजको मेन्टल मोडेलको भुमिका रहन्छ । बालक जन्मेर यस धर्तीमा आइसकेपछि उसले प्राप्त गर्ने वातावरणमा मेन्टल मोडल निर्भर हुन्छ ।
वयस्क अवस्थामा आइपुग्नु भन्दा पहिल्यै उसले एक किसिमको मेन्टल मोडेल तयार गरिसकेको हुन्छ ।

मेन्टल मोडेल कस्तो हुने भन्ने कुरा व्यक्तिले प्राप्त गर्ने आहार विहार, प्राकृतिक वातावरण, पारिवारिक तथा सामाजिक परिवेश, संस्कार, शिक्षा दिक्षा, हुर्काइको तौर तरिका लगायतका धेरै मिहिन पक्षहरुमा भर पर्ने हुँदा व्यक्ति पिच्छे नै यो फरक हुन जान्छ । यद्यपि दुई वा दुई भन्दा बढी मानिसहरुका मेन्टल मोडेल बिच केही आधारभुत कुराहरुमा समानता भने रहन सक्छ नै ।

यसर्थ प्रकृति र समाजबाट प्राप्त हुने सुचनाबाट कस्तो निस्कर्ष निकाल्ने भन्ने कुरा व्यक्तिको मेन्टल मोडेलमा भर पर्दछ । राम्रो वा नराम्रो, ठीक वा बेठीक, सकारात्मक वा नकारात्मक भन्ने कुराहरु सापेक्षिक कुरा हुन् । एकै वस्तु वा तथ्य पनि मलाई राम्रो लाग्न सक्छ भने यहाँलाई नराम्रो लाग्न सक्छ त्यस्तै तपाईँलाई ठीक लागेको कुरा मलाई मन नपर्न पनि सक्छ । संसारमा हरेक मानिसका भिन्न रोजाईहरु छन् । तपाइँँले जसरी सोच्नुहुन्छ, मैले त्यसरी सोच्नुपर्दछ भन्ने छैन । यसको अर्थ, म सही तपाइँ गलत भन्ने पनि हैन । सही वा गलत सापेक्षिक कुराहरु हुन् ।
यहि कुरा नै म ग्रहण गर्ने कोशिस गर्दैछु ता की मलाई अरु व्यक्तिहरुसँग अपेक्षा उत्पन्न नहोस् । मैले सोचेझैँ अरुले पनि सोचिदिए हुन्थ्यो भन्ने सोचाइले अरु व्यक्तिहरुसँग मैले अपेक्षा राख्न थाल्दछु । तर हरेक व्यक्तिको मेन्टल मोडेल फरक हुने हुनाले उसको सोच र व्यवहार मेरो अपेक्षासँग मेल खाँदैन । अनि म दुःखी हुन्छु, निराश हुन्छु । दुःख र निराशाको कारण नै अपेक्षा त हो । यस्तो भैदिए हुन्थ्यो, उसले यस्तो सोचिदिए हुन्थ्यो, उसले यस्तो गरिदए हुन्थ्यो भन्ने प्रकारका अपेक्षाहरुको सिर्जना जब म गर्न थाल्छु  तब त्यस्तै त हुँदैहुँदैन ,अनि म निराश हुन थाल्छु । दुःखी हुन थाल्छूु ।
source of photo: https://www.saatchiart.com/art/Painting-Sad-Man/840574/3762141/view

यही अपेक्षाको सिर्जना सँगै उपदेशको प्रसंग पनि शुरु हुन्छ , जुन मैले शूरुमै उल्लेख गरेको गौतम बुद्धको उपदेशको प्रसंगसँग मिल्न जान्छ ।

म अरुसँग त्यो व्यवहारको अपेक्षा गर्दछु, जुन व्यवहार म आफैँ चाहीँ गर्दिन भने त्यो कति युक्तिसंगत होला ? अथवा म अरुसँग त्यो व्यवहार नगरोस् भन्ने चाहना राख्छु, जुन म आफैँ गरिरहेको हुन्छु । आफ्नो आङको भैँसी नदेख्ने, अरुको टाउको जुम्रा पनि देख्ने?? आफ्ना कमी कमजोरीलाई चाहीँ नजर अन्दाज गर्ने वा तिनलाई आफ्नो सामथ्र्यकै रुपमा लिएर घमण्ड गर्ने, अनि अरुले चाहीँ सुध्रिनुपर्छ भन्ने अपेक्षा राख्ने ? अनि त्यो अनुचित अपेक्षा अरुबाट पुरा होस् भनेर उपदेश दिन थाल्ने ।

"तिमीले यसो गर्नुपर्दछ । तिमीले यसो गर्नुहुँदैन ।"

ए बाबा ! हरेक व्यक्तिका आफ्ना स्वभाव हुन्छ, रुची हून्छ, आफ्नै मेन्टल मोडल हुन्छ । तसर्थ उसका चाहना, रुची, इच्छा, बोली व्यवहार म भन्दा फरक हुन्छ भन्ने तथ्यलाई भुलेर म किन उ सँग अपेक्षा राखिरहेको छु ? अनि त्यो अपेक्षा उ बाट पुरा गराउन म किन उसलाई उपदेश दिइरहेको छु ? जुन कुरा म उपदेश दिइरहेको छु, त्यही कुरा मैले चाहीँ लागु गरिरहेको छु त ? अझ मैले लागु गरेकै भए ता पनि त्यही कुरा बाँकी दुनियाले पनि गर्नुपर्छ भन्ने मेरो चाहना हो ? हो भने म गलत छु, मैले आफूलाई सुधार्नै पर्दछ । मैले मेरो दृष्टीले देखेको मात्र ठीक, अरु सब बेठीक भन्ने सोच त्याग्नैपर्दछ । फेरी यो सब अरुको खुसीका लागी हैन , मेरै खुसीका लागि हो ।

3 comments:

  1. Superb thought sir....🙂🙂🙂🙂

    ReplyDelete
  2. Man ko kuralai lekhan marfat bekta garne tapaiko kala gajjab ko lagyo. Padhna pairahiyos hamile.

    ReplyDelete