सानो थियो गाउँ । एकाध घरहरु थिए । यता सय भन्दा धेरै कम संख्यामा होमो सेपियन्सहरु विचरण गर्दथे । यी सेपियन्सहरुले जिवन निर्वाह गर्न बाख्रा, कुखुरा, गाई, भैँसी आदी घरपालुवाहरु गरेर जम्मा जम्मी केही सय गैर सेपियन्स जनावरहरु पालेका हुँदा हुन्, सायद । दश बिस प्रजातीका वनस्पतिहरु खेती गरिन्थे होला । वातावरण र जैविक विविधतामाथी चाप त परेकै थियो, तर थोरै ।
माया लाग्थ्यो, जंगली जनावरहरुको, जंगलमा हुर्किरहेका रुख बिरुवाहरुको । गाई बाख्रा चराइन्थ्यो । घाँस दाउरा गरिन्थ्यो । प्रकृतिमै पूर्ण निर्भर थियौँ । प्रकृतिको संरक्षण र उपयोग धेरथोर सन्तुलनमै चलिराखेको थियो ।
गाउँको भूगोल चिरेर राजमार्ग र जिल्ला सदरमुकाम जोड्ने सडक निर्माण भयो । सडक वरपर दुई चार घरहरु थपिए । यात्रुहरुलाई भात खुवाउने रेष्टुरेन्टहरु खुले । केही पसलहरु थपिए । दाउराका लागि जंगलका रुखहरु काटिन थाले । घरको भकारीमा पैसा थुपार्न जंगलको भकारीका वनस्पतिहरुको दोहन गर्नुपर्ने भयो ।
केही वर्षपछि सडक कालोपत्रे भयो । स्वाभाविक रुपमा सुविधाभोगी सेपियन्सहरु विभिन्न बहानामा गाउँबाट रोडसाइड झर्न थाले । सेपियन्सको भिड हुन थाल्यो । भुँडीको संख्या थपियो । ती भुँडीहरु भर्नका लागि खेतीपाती गर्न जंगल फाँडिए । प्रकृतिको माया घट्दै गयो । आपका न बापका, प्रकृति दोहनले प्रतिस्पर्धाको रुप लियो ।
स्वादे जिब्राहरुले अरिंगालको गोला खोजे, पोलेर झारे, भुटेर खाए । जिब्रो फट्कारे ।
फुर्सदिला हातहरु भरुवा बन्दुक र गुलेली लिएर जंगल छिरे । भेटेसम्म मृग, खरायो, ढुकुर, कालिज, लुईँचे नभेटे सारौँ भए पनि शिकार गरे, मर्दांगी देखाए, नाक फुलाए । एक छाक दाँत कोट्याउने मेलो बनाए ।
जंगलमा आगो लगाउनु सामान्य दृश्यावलि बन्न थाल्यो - बारी विस्तार गर्न । मनोरञ्जनका लागि । चितुवा लखेट्न । दुम्सी मार्न । लापरवाही गरेर । अर्को वर्ष घाँस पलाउला भनेर । पड्के च्याउ उम्रेला र स्वाद लिउँला भनेर ।
एकपटक एक परिवारले खेत सिँचाई गर्न खनेको पोखरीमा माथी पाखादेखी गुँडुल्किँदै झरेको निर्दोष सालक फस्यो । पोखरीमा साल माछा पर्यो भनेर गाउँ नै उल्टियो । घोचाले हानी हानी मारे । पुरा गाउँ युद्ध नै जितेको मुडमा आयो । एक जनाको भागमा मुस्किलले एक चोक्टा पर्यो । केहीले खबटामा चित्त बुझाए ।
यस्ता निर्मम घटनाका कैयन् एपिसोडहरु भोग्दै समयको श्रृंखला कट्दै गए ।
आक्कल झुक्कल बाख्रा चराउन जाँदा दुर्लभ गोहोरो बारीका कुनाकानी दौडिरहेको देख्थेँ । मन रमाएर गोहोरो भन्दा छिटो दौडन्थ्यो । चिकेन, मटन, पोर्क, बफ खाएर पनि अतृप्त रहेका जिब्राहरुले भेटे त्यसलाई पनि बाँकी राख्दा रहेनछन् । हरे शिव
!
खोलामा विष हालेर, बम हानेर, करेन्ट लाएर प्रशस्त माछा मार्ने सहज तौर तरिकाहरुले जाल खेल्ने, बल्छी थाप्ने, थाल थाप्ने, कुर खेल्ने, घन हान्ने, दुवाली छेक्ने जस्ता परम्परागत र तुलनात्मक रुपमा पर्यावरण्ीय सन्तुलन कायम राख्ने विधिहरुलाई विस्थापित गर्न थाले । जमिनका भन्दा बढीसंवेदनशिल हुने खोलाका जिवनहरु मासिए ।
मानिसको लोभी मन ! थोरैले नपुग्ने, धेरै ओगट्ने । पुगेस् पुगेस्ले पुगेन । पेट भर्नेगरी खायो, बढी भाको फालिदियो । बाल ?!
सर्पदंशका सत्यहरु वषौँको अन्तरालमा आक्कल झुक्कल सुनिने कुरा थियो । तर खेतमा भ्यागुता, मुसा खाइदिएर गुन लाउन हिँडेका नागहरु मानिसका आँखा अगाडी आइपुगे भने रोज मारिन्थे । भलै नागपञ्चमीमा दैलोमाथी नागको तस्बिर टाँगिन्थयो । नागको मुर्तिले दुग्ध स्नान भेट्थ्यो । ढोँगी सेपियन्स !
केही सचेत मनहरु चिन्तातुर हुन्थे । समस्याको जड अशिक्षा र गरिबीलाई मान्थे । गाउँ गाउँमा विद्यालय र कलेजहरु खुले । मानिसहरु पढे । शिक्षित भए ।
यही लक डाउन ताका देखेँ -स्नातक र स्नातकोत्तरहरु करेन्ट लाउँदै माछा मार्न व्यस्त थिए । जलीय पारिस्थितिकीय प्रणालीको महत्वबारे आधारभुत तहमा पढाइ हुन्छ । शिक्षित र सम्पन्न व्यक्तिहरु हातमा गुलेली बोकेर जंगलबाट फर्कँदै थिए । देशका कणर्धारहरु निराश भएर एउटा ढुकुर पनि नभेटेकोमा गुनासो गर्दै थिए । हाय शिक्षा !
युवाहरु शहरमुखी । विदेशमुखी । शहरमा रहेका जिब्राहरु गाइ भैँसीको शुद्ध घिउ खोज्छन् । बुढा बाउआमाहरु कुप्रिदैँ जंगल छिर्छन् । रुख चढेर स्याउला झार्न सक्दैनन् बौरा ! फेदैदेखी सालका लुंगुराहरु गिँडाइदिन्छन् । भारी पुर्याउँछन् । शहरमा रहेका निष्ठुर सुविधाभागीहरुलाई पाथीका पाथी दही, दुध, घिउका कोसेली पुर्याएर सन्तान सुख खोज्दछन् । साल र अन्य वनस्पतिहरु, अनि तिनमा आश्रित प्राणिहरु त सन्तान सुख नै भोग्न नपाई शहिद हुने भए त ।
बोटै पिच्छे फरक स्वाद पाइने आँपका बुटाहरु घट्दै गए । अमलाका बुटा आक्कल झुक्कल भेटिन्छन् । करमका बुटाहरु रोगाएर खण्डहर जस्तै देखिन थालेका छन् । पालुवा लाग्न नपाउँदै निमोठिएर होलान्, शायद । सयौँ वनस्पतिहरु त मैले पहिचान र स्मरण गर्न नपाउँदै लोप भइसकेका होलान् ।
भ्यागुताहरुको ट्वार्र ट्वार्रको लाउडनेस घट्दै गएको छ । कति थरी सर्पहरु भेटिन्थे । आइसल्याण्डमा भन्दा दुर्लभ छन् अहिले । गोहोरो त देखिएकै छैन।
खजुरो, बिच्छी, झ्याउँकिरीका प्रजातीहरु पनि घट्दै गएका रहेछन् ।
हुँचिलको हुँ हुँ सुनिएको छैन । ठेउवाको ठ्याँ ठ्याँ सुन्न कान तिर्खाइरहेको छ । तित्राको “तिन तारे तिरित्”आक्कल झुक्कल मात्र सुनिन्छ, कतै कतै ।
चितुवा छैनन् होला र त घरपालुवा जनावरहरुलाई आक्रमण गरेको खबर सुनिएको छैन । तै तै बाँदरहरु चाहिँ प्रशस्तै छन् र बाली जोगाउन हम्मे हम्मे परेको छ । गोडा दोएक चितुवाहरु जंगलमा बँचेका हुन्थे त बाँदरको पनि दुहाई हुन्थ्यो होला ।
रैथाने बालीहरु पनि बाँकी छैनन् है । बढी उत्पादन दिने तर बिउ जगाउन नसकिने, वर्षेनी किन्नुपर्ने हाइब्रिड वा विकासेको जगजगी छ । ठूला ठूला घोगा फलेको देखेर जुँगा मुसार्ने कृषकहरु रासायनिक मल, विषादी नभई उत्पादन नदिने यी विकासेको स्याहारमा ऋण ठेक्न बाध्य छन् ।
केही वर्षको अन्तरालमा हो, यो दुर्घटनाको सुस्त र तिव्र रुप देखिन थालेको । अर्धचेत, अचेत र सचेतहरुले धरीे चेतेका चाहिँ छैनन् है । हराएका जिवनहरुको सायद लेखाजोखा पनि गरेका छैनन् । कारण - विकल्प अझै प्रशस्त देखिएका छन् । तर जिवहरु लोप हुँदै जाँदा बाँकी बचेका जिवहरु पनि बढी जोखिममा पर्दै जाने र लोप हुने दरले ज्यामितीय रुप लिने पर्यावरणको सामान्य नियम कसले कसलाई बुझाउने ?
सन् २०२० को विश्व वातावरण दिवसको दिन यस्तै पिडादायी चिन्तनमा बित्यो । तपार्इँको नी ?