यो लेख लेख्न बस्दा
काठमाण्डौका साथै देशका विभिन्न स्थानमा भारी वर्षा भइरहेको छ । ठाउँ ठाउँमा बाढी
र पहिरोले व्यापक मात्रामा धनजनको क्षति गरेको समाचार पढ्नु परिरहेको छ । पुरा
राज्यशक्ति कोभिड -१९ को महामारी विरुद्ध एकत्रित भइरहेको समयमा पनि वर्षा र
वर्षाजनित विपद् बाढी र पहिरोले भने हामीप्रति थोरै मात्र पनि दयाभाव नराखी कहर
वर्षाइरहेका छन् ।
गृह मन्त्रालयको विपद्
व्यवस्थापन सम्बन्धी वेब प्लाटफर्म डिआरआर पोर्टलका अनुसार पछिल्लो एक सातामा
मात्र देशभर पहिरोका ५५, भारी वर्षाका १३ र बाढीका
५ वटा घटनाहरु दर्ज भएका छन् । २५ र २६
गते दुई दिनमा मात्र गण्डकी, कर्णाली र प्रदेश नं ५ का
विभिन्न जिल्लाहरु लगायत देशका विभिन्न स्थानमा गएको पहिरोमा कम्तीमा २६ जना
मारिएका छन् भने ४१ जना बेपत्ता भएका छन् ।
जल तथा मौसम विज्ञान
विभागको मौसम पुर्वानुमान महाशाखाका अनुसार मनसुनको प्रभाव अझ बढ्दै जाँदा वर्षाको
मात्रा अझ बढ्ने र बाढी पहिरोबाट हुने क्षतिको मात्रा पनि बढेर जाने देखिन्छ । कुल
जनसंख्याको ६८ प्रतिशतभन्दा बढी जिविकोपार्जनका लागि कृषिमा आश्रित भएको देशमा हामी
धर्मसंकटमा बाँच्नुपरेको छ । वर्षा नहुँदा भोकभोकै बाँच्नुपर्ने, अधिक वर्षा हुँदा
जनधनको क्षति व्यहोर्नुपर्ने । हामीलाई चाहिने ठीक्क मात्रामा प्रकृतीले वर्षा
गराइदिए त हुन्थ्यो, तर यो फगत एक कल्पना न हो ।
प्राकृतिक रुपमै हामी
बाढी र पहिरोको ठूलो जोखिममा छौँ । वर्षभरी हुने जम्मा वर्षाको ८० प्रतिशत भन्दा
बढी त मनसुनका ३ महिनामा मात्र हुन्छ । भौगर्भिक हलचलका कारणबाट अस्थिर र कमजोर
भूधरातल निर्माण भएको छ । त्यसमाथी मानवीय अज्ञानता र लापरवाही जोडिन आउँदा जोखिम
झनै बढेको छ ।
अधिकांश भूभाग भिरालो सतहले
अगटेको छ । गुरुत्वबलको कारण नै यी भीराला जमिनका ढुङ्गा र माटो तलतिर तानिइरहेका
हुन्छन् । सतह मुनीको विशाल इण्डियन प्लेट झनै विशाल तिब्बती प्लेटमुनी घुस्रिँदै
गएको कारणबाट निर्माण भएका हाम्रा पहाडहरु विश्वको अन्यत्रका पहाडका तुलनामा नयाँ
र कमजोर प्रकृतीका छन् । भौगर्भिक हलचलका कारण हाम्रो भूसतह अस्थिर र कमजोर बन्न
गएको छ । तसर्थ हाम्रा पहाडहरुमा पहिरो प्राकृतिक रुपमा नै एक स्वाभाविक र
अवश्यम्भावी प्रकोप बन्न पुगेको छ ।
पहाडी क्षेत्रमा रहेको
उचाइको तिव्र विविधताले गर्दा हिमाल, पहाड र चुरेलाई
मुहान बनाएर बहने हजारौँ नदीहरु तिव्र गतिमा बहने गर्छन् । तिव्र गतिमा बहँदा यी
नदी, खोला, खहरे र खोल्सीहरुले
पहाडका फेद काटेर आफूसँग कोसेली ठूलो मात्रामा गेग्र्यान लिएर तराई झर्छन् ।
तराईको समथर मैदानमा ती गेग्र्यानको बिस्कुन फिँजिँदा नदीको सतह बढ्न गएको छ ।
मनसुनको समयमा अत्याधिक वर्षा हुँदा नदीको सतहमा पानी बढी हुन गई छिमेकी खेती र
बस्तीतिर पोखिने हुँदा बाढीको वितण्डा निम्तिन पुग्छ । यसरी पहाडमा पहिरो जस्तै
तराईमा बाढी पनि प्राकृतिक रुपमा एक स्वाभाविक र नियमित प्रकोप बनेर रहेको छ ।
प्राकृतिक रुपमा नै
अभिशापको रुपमा प्राप्त बाढी र पहिरोको प्रकोपको जोखिमलाई पछिल्लो समय मानवीय
क्रियाकलापहरुले झनै बढाएका छन् । कलिला र कमजोर पहाडका फेदीहरुमा
सडक निर्माण गरिँदा टाकुराका ढुंगा माटोको आधार काटिन पुगेको छ । सुस्तरी तलतिर
घस्रिरहेको जमिनको सतह तिव्र रुपमा खस्न थालेको छ । जलवायु परिवर्तनका कारण मनसुनको
समयमा वर्षाको उच्चता (छोटो अवधिमा धेरै वर्षा
हुने) झनै तिव्र हुँदा पहिरोको संख्यामा बढोत्तरी भएको छ ।
सडक निर्माण र बस्ती विस्तारका कारण उत्तरका हिमाल र महाभारत पर्वत
श्रृंखला भन्दा पनि झनै युवा र कमजोर चुरे पर्वतको नाजुक जमिनलाई जोगाएर राखेका
वनजंगलमाथी मानवीय चाप बढ्दै गएको छ । जसका कारण भूक्षयको मात्रामा तिव्रता आएको छ
। चुरेबाट नदीहरु मनसुनको समयमा अत्याधिक मात्रामा गेग्र्यान बोकेर तराई जान्छन् ।
जसले तराईमा नदीको सतह अस्वाभाविक रुपमा बढाएको छ र बाढीको कहर निम्त्याएको छ ।
हामीलाई थाहा नभएको होइन, हामी बाढी र
पहिरोको उच्च जोखिममा छौँ । वर्षेनी वर्षायाममा बाढी पहिरोका कारण ठूलो धनजनको
क्षति भोग्नु परिरहेको छ । तर हामी नेपाली बिन्दास स्वभावका छौँ । विपद्को समयमा
हाम्रो रुवाबासी सुनीनसक्नुको हुन्छ । तर केही समयपछाडी नै हामी त्यसलाई
भुलिसक्छौँ । विपदबाट पाठ सिकेर आगामी दिनमा विपद्को जोखिम घटाउनेतर्फ हाम्रो
ध्यान आवश्यक मात्रामा केन्द्रित हुन नसकेको कारणले नै आज यो अवस्था आएको हो ।
पहिरो टारेर टार्न नसकिने
भूगोलमा सडक निर्माण गरिरहँदा पनि पर्याप्त मात्रामा रोकथामका क्रियाकलाप पनि सँगै
सञ्चालन भइरहेको पाइँदैन । यो साल सडक खन्ने, अर्को साल नाली
खन्ने, त्यसपछि कालोपत्रे गर्ने अनि पहिरो आएमा सोहोर्ने, तारजाली लगाउने
प्रवृत्ती देखिन्छ । पहाडका फेदीहरुमा सडक ट्र्याक बनाउँदैदेखी पहिरो रोकथामका
लागि आवश्यक संरचनागत र गैरसंरचनागत उपाय पनि अवलम्बन गर्दै जानु आवश्यक हुन्छ । अन्यथा
सडक निर्माणमा भन्दा बढी लगानी पहिरो रोकथाममा लगाउनु पर्ने हुन्छ । सडक असुरक्षित
बन्न पुग्छ । सडक दुर्घटनाहरु नियन्त्रण गर्न गाह्रो हुन्छ । सडक माथीका बस्ती, खेती र वातावरण
पहिरोको चपेटामा परिरहन्छन् ।
स्थानीय तहमा स्थानीय
सरकार र उपभोक्ता समितिहरुबाट निर्माण गरिएका सडक त सडक पनि होलान् तर त्यो भन्दा
बढी काल हुन् । ती सडकहरु स्थानीय जैविक विविधताको विनाश, कृषियोग्य जमिनको
विनाश, वातावरणीय ह्रास, जलश्रोतको संहारका
साथसाथै बाढी पहिरोका पनि प्रमुख कारक बन्न पुगेका छन् । बिना कुनै वैज्ञानिक
योजना अनियन्त्रित रुपमा पहाडको छाती चिरेर खनिएका यी संरचनाहरुले व्यापक मात्रामा
भूक्षय निम्त्याइरहेका छन् । यीनले पहाडमा पहिरो खसाउने र नदीहरु मार्फत गेग्र्यान
असारेर तल तराईमा बाढीको आतंक मच्चाउने काम गरिरहेका छन् ।
स्थानीय सरकारहरुले सडक
खनेर खत्तम गरे भन्न खोजिएको भने होइन । जनताको घरदैलोमा नै सिंहदरबार पुग्दा पनि
जनताले सडक, खानेपानी, विद्युत जस्ता विकासका
पुर्वाधारहरुको स्वाद लिन पाएनन् भने अब कहिले लिने ? तसर्थ स्थानीय
सरकारहरुले बुद्धिमत्तापुर्वक जनआकांक्षालाई सम्बोधन गर्दै पुर्वाधार निर्माण, वातावरण संरक्षण
र सामाजिक समानता कायम गर्ने दिगो विकासको बाटो लिनुपर्छ । यसका लागि स्थानीय
सरकारका राजनैतिक र प्रशासनिक नेतृत्वमा धैर्यता, विवेक र संयमको
भने ठूलो आवश्यकता पर्दछ ।
२०७७ असार २७ गते