विषय प्रवेश
जनसंख्या वृद्धिसँगै वातावरणमा चाप बढ्नु स्वाभाविक हो । त्यसमाथी औद्योगिक
क्रान्तिपछि आर्थिक वृद्धिमा ज्यामितिय दरले वृद्धि भएको छ र त्यस वृद्धिको
मेरुदण्ड "उपभोगको संस्कृति" हो । वस्तु तथा सेवाको उपभोगमा वृद्धि नगरी उत्पादनमा
वृद्धि ल्याउन सकिँदैन । उत्पादन र उपभोगमा वृद्धि नगराई आर्थिक वृद्धि हासिल गर्न
सम्भव छैन । पछिल्लो समय आर्थिक वृद्धि एक धर्म (religion) बनिसकेको छ र तत्कालका लागि
यसबाट पछाडी फर्कन सकिने सम्भावना पनि देखिँदैन । तसर्थ, हालको आवश्यकता भनेको वातावरण
व्यवस्थापन र आर्थिक वृद्धिलाई सँगै लैजानु हो ।
वातावरण व्यवस्थापन, आर्थिक वृद्धि र सामाजिक न्यायलाई दीगो विकासको तिनवटा
आधारस्तम्भ मानिएको छ । दिगो विकासको सिद्धान्तलाई विश्व समुदायले नीतिगत र
राजनैतिक रुपमा ग्रहण पनि गरिसकेको छ । तथापी, कुनै पनि विषयमा आम जनताको तहमा सचेतना नआउन्जेल
संवैधानिक, नीतिगत र कानुनी
व्यवस्थाले मात्र परिवर्तन ल्याउन नसक्ने कुरा पुष्टि भइसकेको तथ्य हो । अबको आवश्यकता
भनेको दिगो विकासको यो सर्व-स्विकार्य सिद्धान्तलाई सामुदायीक, पारिवारिक र व्यक्तिगत तहमा
पनि कार्यान्वयन गराउनु हो । यसका लागि वातावरणमाथी विकासले सिर्जना गरेका चुनौती
र यसका समाधानका उपायहरुप्रति सचेत नागरिकहरुको खाँचो पर्दछ । अझ भनौँ, हामी सबै जनाले व्यक्तिगत, पारिवारिक र सामुदायिक तहमा
वातावरण व्यवस्थापनलाई आर्थिक उत्थानसँगै लग्न सक्ने क्षमता राख्नु जरुरी छ ।
यस्तो क्षमता विकास गर्नका लागि वातावरण शिक्षालाई आम नागरिकहरुसम्म पुर्याउनु
आवश्यक छ । यस्तो शिक्षा, जसले आफ्नो वरपर भइरहेका वातावरणीय परिवर्तनलाई बुझ्न सक्ने र व्यक्तिगत देखी
सामुदायिक तहसम्म वातावरण व्यवस्थापनका क्रियाकलापहरु सञ्चालन गर्नमा भुमिका खेल्न
सक्ने जनशक्ति विकास गरोस्, त्यस्तो शिक्षाको आवश्यकता भइसकेको छ । तथापी वातावरण शिक्षा
मात्र नभई पुरा शैक्षिक प्रणाली नै दोषपूर्ण भएको हाम्रो देशमा शिक्षाले वातावरण
मात्र होइन की कुनै पनि मुद्दा प्रति सचेत र संवेदनशिल जनशक्ति नै उत्पादन गर्न
सकिरहेको छैन ।
शिक्षाको प्रभावकारिता
कोभिड १९ को महामारीको दोस्रो लहरका कारण घोषित निषेधाज्ञाको समयमा मेरो गाउँ
घरका गतिविधिहरुलाई मिहिन रुपमा नियाल्ने फुर्सद पाएँ । मेरो गाउँमा अहिले ४०
वर्षमुनिका युवाहरु सायदै अशिक्षित छन् । यी मध्ये अधिकांशले विद्यालय तहको शिक्षा
हासिल गरेका छन् र धेरैले त उच्च शिक्षा पनि लिएका छन् । यी युवालाई केही हदसम्म
देशका सम्पूर्ण युवाहरुको प्रतिनिधि पात्रको रुपमा लिन सकिन्छ । सायद यी शिक्षीत
युवाहरुका गतिविधिलाई देशको शैक्षिक प्रणालीको उपलब्धि मापन गर्ने सुचकका रुपमा
हेर्न पनि सकिन्छ होला ।
नैतिक शिक्षा, सामाजिक शिक्षा, स्वास्थ्य शिक्षा, व्यावसायीक शिक्षा लगायतका
विद्यालय तहमा पढाई हुने अनगिन्ति विषयहरुलाई यी युवाहरुले विद्यालयमा रहँदा फगत
अंक र स्तर (rank) हासिल गर्न पढ्नुपर्ने प्रयोगविहिन (useless) पाठको रुपमा मात्र लिए की
जिवन उपयोगी सीपहरु विकास गर्ने विषयको रूपमा पनि लिए भनेर पनि अवलोकन गर्न सकिन्छ
होला । खासमा त हाम्रो शिक्षा प्रणालीले विद्यार्थीलाई किताबको भारी बोक्ने भरिया, किताबको पाठ घोक्ने सुगा र
घोकेको पाठ हुबहु उत्तर पुस्तिकामा उतार गरेर बढी भन्दा बढी अंक हासिल गर्ने
प्रतियोगिताको प्रतिस्पर्धि बनाइरहेको छ । यो त बृहत् बहसको विषय हो ।
यसमा शिक्षाविद् र शिक्षा प्रति सरोकार र चासो राख्नेहरुले बहस चलाइरहेकै छन्, जसलाई अझै घनिभुत बनाउनु
जरुरी छ र शिक्षा प्रणालीको पुन:संरचना गर्नु अति आवश्यक छ ।
शैक्षिक प्रतिष्ठानहरुमा लिएको शिक्षाको व्यवहारमा प्रयोग शुन्य प्राय: छ । वातावरण शिक्षाको हकमा
पनि सत्य त्यही हो । वातावरण व्यवस्थापनका लागि अपनाइएका अनेकन् उपायहरुमध्ये
प्रमुख उपायको रुपमा वातावरणीय रुपमा सचेत नागरिक उत्पादन गर्न औपचारिक शिक्षाको
पाठ्यक्रममा वातावरण शिक्षालाई समावेश गरिएको छ । कक्षा १ देखी १० सम्म पढाई हुने
अनेक अनिवार्य र ऐच्छिक विषयहरुमा वातावरण व्यवस्थापन सम्बन्धी पाठहरु समावेश
गरिएका छन् । विश्वविद्यालय तहमा वातावरण शिक्षालाई विशिष्ट कोर्सको रुपमा पठन
पाठन गर्न थालेको धेरै भइसक्यो । वातावरण विज्ञान लगायतका वातावरण सम्बन्धी
विशिष्ट कोर्समा स्नातकोत्तर गर्नेको संख्या हजारौँमा छ भने सायद विद्यावारिधि
गर्नेहरुलाई पनि गन्ति गर्न गाह्रै पर्ने भइसकेको छ ।
वातावरण व्यवस्थापनको सामान्य सुझबुझ राख्ने जनशक्ति उत्पादन गर्ने लक्ष्य त
हाम्रो विद्यालय तहकै पाठ्यक्रमले लिएको छ, विश्वविद्यालय तहको शिक्षा लिइराख्नुपर्दैन ।
हाम्रो विद्यालय तहको पाठ्यक्रमका अनेकन उद्धेश्यहरुमध्ये एक उद्धेश्य आफ्नो
वरपरको वातावरण संवर्द्धन गर्न सक्षम नागरिक उत्पादन गर्नु हो । त्यसमाथी सरकारी र
गैर सरकारी दुवै तहबाट रेडियो टेलिभिजन सामाजिक सञ्जाल र अनेक अनौपचारिक माध्यमबाट
वातावरण शिक्षाको प्रचार प्रसार व्यापक रुपमा भइरहेको छ । वेद पुराण र धर्मग्रन्थ
लगायतका परम्परागत ज्ञानका भन्डारहरुबाट "वातावरणलाई जोगाउनुपर्छ" भन्ने शिक्षा
श्रुतिपरम्परा मार्फत अन्तरपुस्ता हस्तान्तरणको क्रम केही घटे पनि अझै अस्तित्वमा छ ।
Image credit: terrapass.com
तर हाम्रा शिक्षित नागरिक, अझ युवाहरु, के गरिरहेका छन् ? जंगलमा आगो लगाइरहेका छन् ।
"नमार्नु है चरिबरी, दया र धर्म भाग्दछ" भनेर प्राथमिक तहमै
पढेकाहरु गुलेली र भरुवा बन्दुक बोकेर चरा चुरुंगी र अन्य जंगली जनावरहरुको शिकार
गर्न हिँडिरहेका छन् । एक छाक माछाका लागि खोलामा करेन्ट लगाएर, विष हालेर र बम पड्काएर
जलीय पारिस्थितिकीय प्रणालीको दोहोलो मात्रै काढिरहेका छैनन्, आफ्नै शैक्षिक योग्यता, फाइलमा जतन गरेर राखिएको
शैक्षिक प्रमाणपत्र र समग्र शिक्षा प्रणालीको खिल्ली उडाइरहेका छन् । रुख बिरुवा
अनावश्यक रुपमा काट्ने, खोलामा फोहोर फाल्ने, फोहोर जलाउने, रासायनिक विषादीहरुको अति
प्रयोग गर्ने लगायतका अनेकन् क्रियाकलापहरु म अवलोकन गरिरहेछु, जुन काम गर्नुहुँदैन भनेर
विद्यालयको आधारभुत तहमा पढाई हुन्छ ।
आदरणीय गुरुहरु, के पढाएछौँ, के सिकाएछौँ ? शिक्षित नागरिकहरु, के पढ्यौँ, के बुझ्यौँ, के सिक्यौँ ? नीति निर्माताज्युहरु, शिक्षाको उद्धेश्य के हो ?
अन्तमा,
पुराका पुरा शिक्षा प्रणाली असफल भएको छ । हाम्रो संस्कार र संस्कृति दोषयुक्त
छ । यसलाई बदल्नुपर्छ ।
यो लेखको उद्धेश्य पढ्नेहरुलाई प्रभाव पार्ने भन्दा पनि म आफैँलाई बदल्ने एक
उपक्रम हो । यी पंक्तिहरु पढेर तपाईँहरु प्रभावित हुनुभयो र आफैँलाई बदल्ने तर्फ
एक कदम अगाडी बढाउनुभयो भने त गजब भइहाल्यो । मेरो कामले वातावरण विनाश गरेको छ की
वातावरण संरक्षण गरेको छ, ता की मेरा सन्ततीहरुले पनि यी वातावरणीय स्रोतहरु देख्न
भोग्न पाउन् । बस्, यति सोचिदए पुगिहाल्छ ।
वातावरणीय मुद्धाहरु विकास विरोधी मुद्धा होइनन् । यी त खासमा दीगो विकासका
लागि नभई नहुने सवालहरु हुन् । वातावरण नै बिग्रिए कहाँ विकास गर्ने, के मा विकास गर्ने ? "वातावरण व्यवस्थापन" विकासको एक हिस्सा हो ।
वातावरण व्यवस्थापन र आर्थिक वृद्धिलाई सँगै लैजान सजिलै सकिन्छ । यसको
शुरुवात सकेसम्म वातावरणमा कम चाप पर्ने गरी तपाईँ हाम्रो दिनचर्याका सामान्य
क्रियाकलापहरुलाई सञ्चालन गरेर गर्नुपर्छ । बस्, विद्यालयमा पढेका ती "वन जोगाऔँ", "नदी संरक्षण गरौँ", "जंगली जीवजन्तु र
चराचुरुंगीको संरक्षण गरौँ" लगायतका पाठहरुलाई आफ्नो जिवनमा उतार गरेर म शिक्षित नागरिक
हो भन्ने पुष्टि गरिदिनुहोस् । एउटा प्रसिद्ध भनाई नै छ नी, "संसार बदल्नु छ भने शुरुवात
आफैँबाट गर्नुपर्छ" ।
कपिल सिलवाल
ksilwal@outlook.com
No comments:
Post a Comment