Tuesday, June 8, 2021

जलवायु परिवर्तन अनुकुलित विकास, हाम्रो आवश्यकता

 मुस्किलले आधा घन्टा पानी पर्यो तर आकाशबाट भाँडो घोप्ट्याएजसरी । पानी मात्र होइन, हावा हुरी र असिना पनि ।

स्वादे घोगा हालिसकेका मकैका बोट सोतर भए । घरमाथीको कच्ची सडकबाट सोहोरिएको भेल तह लगाउन सकिएन, घरभित्र छिरेर आहाल बन्यो । फलफुलका बोट स्वाहा भए ।

७८ साल जेठ २५ गते दिउँसो ३ बजे धादिङ्ग जिल्ला सिद्धलेक गाउँपालिकाको केही भूभागमा सिर्फ आधा घन्टा प्रकृतिले तान्डव नाच्दा जनजिवन अस्तव्यवस्त भयो ।

मानिसहरुले भने, भारी वर्षा त पहिले पनि हुने गरेको हो तर यति छोटो अवधिमा यति धेरै वर्षा भने पहिले कहिल्यै हुँदैनथ्यो । अचेल हरेक वर्ष छोटो समयमा अत्याधिक वर्षा हुने दर बढ्दै गइरहेको छ । वर्षा त आवश्यक छ तर यसरी छोटो समयमा धेरै पानी पर्नु भने घातक हुन्छ । भेल-बाढी, पहिरो, बाली नालीको सत्यानाश, अस्तव्यस्त जनजिवन ।

जलवायु परिवर्तनले निम्त्याएका यस्ता प्रभावहरु पछिल्लो समय नियमित मात्र हैन, झन् झन् सघन हुँदै गइरहेका छन् । समुदायमाथी यस्ता असरको कहर वर्षेनी बढ्दो दरमा वर्षिरहेको छ । समुदायका अधिकांशले यसलाई जलवायु परिवर्तनको असरका रुपमा बुझिरहेका छैनन्, वा उनीहरुलाई जलवायु परिवर्तन भनिने शब्दावली थाहा नहुन सक्छ । तर पछिल्ला केही दशकको मानव समुदाय र प्रकृतीमाथीको सबैभन्दा ठूलो चुनौती जलवायु परिवर्तन हो र यो यथार्थ हो ।


Image source: https://www.internationalairportreview.com/article/77656/effects-climate-change-airports/

विश्व वैज्ञानिक समुदायले यसलाई पुष्टि गरिसकेको छ । विश्वभरका अधिकांश सरकारहरु जलवायु परिवर्तन र यसका प्रभावहरुलाई स्विकार्छन् र जलवायु परिवर्तनलाई रोक्न नसके मानव सभ्यता नै खतरामा पर्ने हुनाले जलवायु परिवर्तन न्युनीकरण गर्नुपर्छ भन्नेमा सहमत छन् ।

१९९२ मा ब्राजिलको रियो द जेनेइरोमा भएको पृथ्वी शिखर सम्मेलनबाट जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धी पारित भएयता हरेक वर्ष यस महासन्धीका पक्ष राष्ट्रहरु एक ठाउँमा जम्मा भएर जलवायु परिवर्तन रोकथाम गर्न छलफल गरिरहेका छन् । यस्ता बैठकहरुको श्रृंखलाको २६ औँ बैठक स्कटल्यान्डको ग्लास्गोमा आगामी नवम्बरमा आयोजना हुने तय भइसकेको छ ।

वर्षेनी हुने यस्ता अनेकन् सम्मेलनमा जलवायु परिवर्तन र सम्बन्धित अन्य वातावरणीय सवालहरुमाथी विमर्श हुन्छ, निर्णयहरु गरिन्छन् र घोषणापत्रहरु जारी गरिन्छन्, सन्धि अभिसन्धिहरुमा हस्ताक्षर गरिन्छ । तर तिनको कार्यान्वयनको पाटो भने उत्साहजनक छैन ।

सन् २०१५ मा फ्रान्सको पेरिसमा सम्पन्न महासन्धिका पक्षराष्ट्रहरुको २१ औँ सम्मेलन (21st CoP) ले जलवायु परिवर्तनलाई न्युनीकरण गर्न पृथ्वीको वायुमन्डलको तापक्रम पुर्व औद्योगिक समयभन्दा २ डिग्री सेल्सियस माथी सम्म सिमित गर्ने र १.५ डिग्री सेल्सियससम्म सिमित गर्न भरमग्दुर प्रयत्न गर्ने सहमति गरेको थियो । पेरिस सम्झौतामा १९५ राष्ट्रहरुले हस्ताक्षर गरेका छन् र १९१ राष्ट्रहरु यसका पक्ष राष्ट्र बनिसकेका छन्, जसमध्ये नेपाल पनि एक हो ।

तर पेरिस सम्झौताको कार्यान्वयन जुन स्तरमा हुनुपर्ने हो, त्यो स्तरमा हुन सकेको छैन । यसका लागि अमेरिका, जापान, रुस जस्ता विकसित राष्ट्रहरुले र चिन, भारत जस्ता तिव्र रुपमा विकास गरिरहेका राष्ट्रहरुले हरित गृह ग्यास उत्सर्जनमा भारी मात्रामा कटौती गर्नुपर्ने हुन्छ । र यसका लागि औद्योगिक क्रियाकलापमा खनिज इन्धनको प्रयोगबाट वैकल्पिक उर्जाको प्रयोगमा जानुपर्ने हुन्छ ।

तर वैकल्पिक उर्जाको श्रोतहरु प्रयोग गरेर व्यापक स्तरमा औद्योगिक क्रियाकलापहरु सञ्चालन गर्न तत्कालै सम्भव छैन र औद्योगिक क्रियाकलापलाई सिमित तुल्याउने कुनै पनि क्रियाकलाप गर्न राष्ट्रहरु तयार छैनन् किनभने यसले आर्थिक वृद्धिलाई सुस्त बनाउन सक्छ । राष्ट्रहरुबीच आर्थिक वृद्धिको होडबाजी चलिरहेको यो समयमा कोही पनि यो दौडबाट स्वेच्छिक रुपमा बाहिरिन चाहँदैन ।

कम्तीमा उर्जाको परम्परागत श्रोतलाई विस्थापन गर्ने तहसम्म विकास वैकल्पिक उर्जाको विकास नहुन्जेल हरित गृह ग्यास उत्सर्जनमा उल्लेखनीय ह्रास सम्भव देखिएको छैन । तर फेरी हरितगृह ग्यास उत्सर्जन बढी गर्ने राष्ट्रहरुमा भन्दा नेपाल जस्ता अत्यन्त थोरै उत्सर्जन गर्ने राष्ट्रहरुमा जलवायु परिवर्तनका असरहरु भने बढी हुन्छ । हरित गृह उत्सर्जन कटौती गर्न पहल नगर्ने ती प्रमुख उत्सर्जक राष्ट्रहरुको अपराधको असर भने हामीले भोग्नुपरिरहेको छ ।

हामीले गर्न सक्ने भनेको हामी जस्ता प्रभावित राष्ट्रहरुको संगठन बनाएर उत्सर्जक राष्ट्रहरुलाई दवाब दिने र जलवायु परिवर्तनका असरहरुसँग अनुकुलित हुने समुदाय तयार गर्ने तर्फ अग्रसर हुने हो । अनुकुलित समुदाय तयार गर्न पारिस्थितिकीय प्रणालीहरुको विविधता संरक्षण गर्दै उत्थानशिलता वृद्धि गर्नु पनि अति आवश्यक छ ।

विकसित राष्ट्रहरुले विकासको त्यो स्तरसम्म पुग्न गरेको वातावरण विनाशलाई देखाएर हामीलाई पनि त्यो स्तरसम्मको विनाश गर्न छुट हुनुपर्ने तर्क पनि नआउने होइन । तर यो तर्क अरुले आची खाए, मैले पनि खान पाउनुपर्छ भन्ने स्तरको भद्दा कुतर्क मात्र हो । विवेकशिल मान्छेले ईतिहासबाट पाठ लिन्छ, आफ्नो मात्र हैन अरुले गरेको गल्तीबाट पनि सिक्छ । तसर्थ हामीले अख्तियार गर्ने आर्थिक वृद्धि र भौतिक विकासको नीति वातावरण र जलवायुमैत्री हुनुपर्छ, यसमा कुनै शंका छैन ।

लेखको प्रारम्भमा प्रस्तुत गरिएको विनाशको श्रृंखलामा कमी आउने होइन, अझ बढ्ने निश्चित छ । हरेक व्यक्ति, परिवार, समुदाय र राज्य यस प्रति सचेत हुँदै यस्ता विपद्हरुको जोखिम कम गर्ने र जलवायु परिवर्तनको असरसँग अनुकुलित हुने रणनीति अपनाउनु अत्यन्त जरुरी छ ।

कपिल सिलवाल

ksilwal@outlook.com

Saturday, June 5, 2021

निष्प्रभावी वातावरण शिक्षा: असफल शिक्षा प्रणालीकै एक पाटो

 

विषय प्रवेश

जनसंख्या वृद्धिसँगै वातावरणमा चाप बढ्नु स्वाभाविक हो । त्यसमाथी औद्योगिक क्रान्तिपछि आर्थिक वृद्धिमा ज्यामितिय दरले वृद्धि भएको छ र त्यस वृद्धिको मेरुदण्ड "उपभोगको संस्कृति" हो । वस्तु तथा सेवाको उपभोगमा वृद्धि नगरी उत्पादनमा वृद्धि ल्याउन सकिँदैन । उत्पादन र उपभोगमा वृद्धि नगराई आर्थिक वृद्धि हासिल गर्न सम्भव छैन । पछिल्लो समय आर्थिक वृद्धि एक धर्म (religion) बनिसकेको छ र तत्कालका लागि यसबाट पछाडी फर्कन सकिने सम्भावना पनि देखिँदैन । तसर्थ, हालको आवश्यकता भनेको वातावरण व्यवस्थापन र आर्थिक वृद्धिलाई सँगै लैजानु हो ।

वातावरण व्यवस्थापन, आर्थिक वृद्धि र सामाजिक न्यायलाई दीगो विकासको तिनवटा आधारस्तम्भ मानिएको छ । दिगो विकासको सिद्धान्तलाई विश्व समुदायले नीतिगत र राजनैतिक रुपमा ग्रहण पनि गरिसकेको छ । तथापी, कुनै पनि विषयमा आम जनताको तहमा सचेतना नआउन्जेल संवैधानिक, नीतिगत र कानुनी व्यवस्थाले मात्र परिवर्तन ल्याउन नसक्ने कुरा पुष्टि भइसकेको तथ्य हो । अबको आवश्यकता भनेको दिगो विकासको यो सर्व-स्विकार्य सिद्धान्तलाई सामुदायीक, पारिवारिक र व्यक्तिगत तहमा पनि कार्यान्वयन गराउनु हो । यसका लागि वातावरणमाथी विकासले सिर्जना गरेका चुनौती र यसका समाधानका उपायहरुप्रति सचेत नागरिकहरुको खाँचो पर्दछ । अझ भनौँ, हामी सबै जनाले व्यक्तिगत, पारिवारिक र सामुदायिक तहमा वातावरण व्यवस्थापनलाई आर्थिक उत्थानसँगै लग्न सक्ने क्षमता राख्नु जरुरी छ ।

यस्तो क्षमता विकास गर्नका लागि वातावरण शिक्षालाई आम नागरिकहरुसम्म पुर्याउनु आवश्यक छ । यस्तो शिक्षा, जसले आफ्नो वरपर भइरहेका वातावरणीय परिवर्तनलाई बुझ्न सक्ने र व्यक्तिगत देखी सामुदायिक तहसम्म वातावरण व्यवस्थापनका क्रियाकलापहरु सञ्चालन गर्नमा भुमिका खेल्न सक्ने जनशक्ति विकास गरोस्, त्यस्तो शिक्षाको आवश्यकता भइसकेको छ । तथापी वातावरण शिक्षा मात्र नभई पुरा शैक्षिक प्रणाली नै दोषपूर्ण भएको हाम्रो देशमा शिक्षाले वातावरण मात्र होइन की कुनै पनि मुद्दा प्रति सचेत र संवेदनशिल जनशक्ति नै उत्पादन गर्न सकिरहेको छैन ।

शिक्षाको प्रभावकारिता

कोभिड १९ को महामारीको दोस्रो लहरका कारण घोषित निषेधाज्ञाको समयमा मेरो गाउँ घरका गतिविधिहरुलाई मिहिन रुपमा नियाल्ने फुर्सद पाएँ । मेरो गाउँमा अहिले ४० वर्षमुनिका युवाहरु सायदै अशिक्षित छन् । यी मध्ये अधिकांशले विद्यालय तहको शिक्षा हासिल गरेका छन् र धेरैले त उच्च शिक्षा पनि लिएका छन् । यी युवालाई केही हदसम्म देशका सम्पूर्ण युवाहरुको प्रतिनिधि पात्रको रुपमा लिन सकिन्छ । सायद यी शिक्षीत युवाहरुका गतिविधिलाई देशको शैक्षिक प्रणालीको उपलब्धि मापन गर्ने सुचकका रुपमा हेर्न पनि सकिन्छ होला ।

नैतिक शिक्षा, सामाजिक शिक्षा, स्वास्थ्य शिक्षा, व्यावसायीक शिक्षा लगायतका विद्यालय तहमा पढाई हुने अनगिन्ति विषयहरुलाई यी युवाहरुले विद्यालयमा रहँदा फगत अंक र स्तर (rank) हासिल गर्न पढ्नुपर्ने प्रयोगविहिन (useless) पाठको रुपमा मात्र लिए की जिवन उपयोगी सीपहरु विकास गर्ने विषयको रूपमा पनि लिए भनेर पनि अवलोकन गर्न सकिन्छ होला । खासमा त हाम्रो शिक्षा प्रणालीले विद्यार्थीलाई किताबको भारी बोक्ने भरिया, किताबको पाठ घोक्ने सुगा र घोकेको पाठ हुबहु उत्तर पुस्तिकामा उतार गरेर बढी भन्दा बढी अंक हासिल गर्ने प्रतियोगिताको प्रतिस्पर्धि बनाइरहेको छ । यो त बृहत् बहसको विषय हो । यसमा शिक्षाविद् र शिक्षा प्रति सरोकार र चासो राख्नेहरुले बहस चलाइरहेकै छन्, जसलाई अझै घनिभुत बनाउनु जरुरी छ र शिक्षा प्रणालीको पुन:संरचना गर्नु अति आवश्यक छ ।

शैक्षिक प्रतिष्ठानहरुमा लिएको शिक्षाको व्यवहारमा प्रयोग शुन्य प्राय: छ । वातावरण शिक्षाको हकमा पनि सत्य त्यही हो । वातावरण व्यवस्थापनका लागि अपनाइएका अनेकन् उपायहरुमध्ये प्रमुख उपायको रुपमा वातावरणीय रुपमा सचेत नागरिक उत्पादन गर्न औपचारिक शिक्षाको पाठ्यक्रममा वातावरण शिक्षालाई समावेश गरिएको छ । कक्षा १ देखी १० सम्म पढाई हुने अनेक अनिवार्य र ऐच्छिक विषयहरुमा वातावरण व्यवस्थापन सम्बन्धी पाठहरु समावेश गरिएका छन् । विश्वविद्यालय तहमा वातावरण शिक्षालाई विशिष्ट कोर्सको रुपमा पठन पाठन गर्न थालेको धेरै भइसक्यो । वातावरण विज्ञान लगायतका वातावरण सम्बन्धी विशिष्ट कोर्समा स्नातकोत्तर गर्नेको संख्या हजारौँमा छ भने सायद विद्यावारिधि गर्नेहरुलाई पनि गन्ति गर्न गाह्रै पर्ने भइसकेको छ ।

वातावरण व्यवस्थापनको सामान्य सुझबुझ राख्ने जनशक्ति उत्पादन गर्ने लक्ष्य त हाम्रो विद्यालय तहकै पाठ्यक्रमले लिएको छ, विश्वविद्यालय तहको शिक्षा लिइराख्नुपर्दैन । हाम्रो विद्यालय तहको पाठ्यक्रमका अनेकन उद्धेश्यहरुमध्ये एक उद्धेश्य आफ्नो वरपरको वातावरण संवर्द्धन गर्न सक्षम नागरिक उत्पादन गर्नु हो । त्यसमाथी सरकारी र गैर सरकारी दुवै तहबाट रेडियो टेलिभिजन सामाजिक सञ्जाल र अनेक अनौपचारिक माध्यमबाट वातावरण शिक्षाको प्रचार प्रसार व्यापक रुपमा भइरहेको छ । वेद पुराण र धर्मग्रन्थ लगायतका परम्परागत ज्ञानका भन्डारहरुबाट "वातावरणलाई जोगाउनुपर्छ" भन्ने शिक्षा श्रुतिपरम्परा मार्फत अन्तरपुस्ता हस्तान्तरणको क्रम केही घटे पनि अझै अस्तित्वमा छ ।

Image credit: terrapass.com

तर हाम्रा शिक्षित नागरिक, अझ युवाहरु, के गरिरहेका छन् ? जंगलमा आगो लगाइरहेका छन् । "नमार्नु है चरिबरी, दया र धर्म भाग्दछ" भनेर प्राथमिक तहमै पढेकाहरु गुलेली र भरुवा बन्दुक बोकेर चरा चुरुंगी र अन्य जंगली जनावरहरुको शिकार गर्न हिँडिरहेका छन् । एक छाक माछाका लागि खोलामा करेन्ट लगाएर, विष हालेर र बम पड्काएर जलीय पारिस्थितिकीय प्रणालीको दोहोलो मात्रै काढिरहेका छैनन्, आफ्नै शैक्षिक योग्यता, फाइलमा जतन गरेर राखिएको शैक्षिक प्रमाणपत्र र समग्र शिक्षा प्रणालीको खिल्ली उडाइरहेका छन् । रुख बिरुवा अनावश्यक रुपमा काट्ने, खोलामा फोहोर फाल्ने, फोहोर जलाउने, रासायनिक विषादीहरुको अति प्रयोग गर्ने लगायतका अनेकन् क्रियाकलापहरु म अवलोकन गरिरहेछु, जुन काम गर्नुहुँदैन भनेर विद्यालयको आधारभुत तहमा पढाई हुन्छ ।

आदरणीय गुरुहरु, के पढाएछौँ, के सिकाएछौँ ?  शिक्षित नागरिकहरु, के पढ्यौँ, के बुझ्यौँ, के सिक्यौँ ? नीति निर्माताज्युहरु, शिक्षाको उद्धेश्य के हो ?

अन्तमा,

पुराका पुरा शिक्षा प्रणाली असफल भएको छ । हाम्रो संस्कार र संस्कृति दोषयुक्त छ । यसलाई बदल्नुपर्छ ।

यो लेखको उद्धेश्य पढ्नेहरुलाई प्रभाव पार्ने भन्दा पनि म आफैँलाई बदल्ने एक उपक्रम हो । यी पंक्तिहरु पढेर तपाईँहरु प्रभावित हुनुभयो र आफैँलाई बदल्ने तर्फ एक कदम अगाडी बढाउनुभयो भने त गजब भइहाल्यो । मेरो कामले वातावरण विनाश गरेको छ की वातावरण संरक्षण गरेको छ, ता की मेरा सन्ततीहरुले पनि यी वातावरणीय स्रोतहरु देख्न भोग्न पाउन् । बस्, यति सोचिदए पुगिहाल्छ ।

वातावरणीय मुद्धाहरु विकास विरोधी मुद्धा होइनन् । यी त खासमा दीगो विकासका लागि नभई नहुने सवालहरु हुन् । वातावरण नै बिग्रिए कहाँ विकास गर्ने, के मा विकास गर्ने ? "वातावरण व्यवस्थापन" विकासको एक हिस्सा हो । वातावरण व्यवस्थापन र आर्थिक वृद्धिलाई सँगै लैजान सजिलै सकिन्छ । यसको शुरुवात सकेसम्म वातावरणमा कम चाप पर्ने गरी तपाईँ हाम्रो दिनचर्याका सामान्य क्रियाकलापहरुलाई सञ्चालन गरेर गर्नुपर्छ । बस्, विद्यालयमा पढेका ती "वन जोगाऔँ", "नदी संरक्षण गरौँ", "जंगली जीवजन्तु र चराचुरुंगीको संरक्षण गरौँ" लगायतका पाठहरुलाई आफ्नो जिवनमा उतार गरेर म शिक्षित नागरिक हो भन्ने पुष्टि गरिदिनुहोस् । एउटा प्रसिद्ध भनाई नै छ नी, "संसार बदल्नु छ भने शुरुवात आफैँबाट गर्नुपर्छ"

कपिल सिलवाल

ksilwal@outlook.com