Saturday, December 9, 2017

कांग्रेसको औचित्य र भविष्य

यस प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेसले अनपेक्षित र अप्रत्याशित हार बेहोर्नुपरेको छ । अनपेक्षित यस अर्थमा कि बाम गठबन्धनले बहुमत ल्याउने त लगभग निश्चित थियो तर प्रत्यक्ष तर्फको मतगणना सकिनै लाग्दा बाम गठबन्धनले  कांग्रेसलाई निकै पछाडी छोड्ने स्पष्टताका साथ देखिएको छ ।

कांग्रेसको हार र वामको जितका कारणहरु त विश्लेषकहरु खोतलि नै रहेका छन् । हारका मूख्य कारणहरु भने घाम जत्तिकै छर्लङ्ग छन् । विशेषगरि संविधान जारी भएपछिका दिनमा कांग्रेसले एक पछि अर्को अलोकप्रिय कदम चालेको थियो, जसले कांग्रेसको जनमत स्वात्तै घटाइदियो । उसै पनि नेपाली कांग्रेस प्रतिको आकर्षण वर्षेनि घट्दै गइरहेको  आँकडाहरुले देखाउँछन् ।

यस ब्लगमा मैले कांग्रेसको हार र वामको जितका कारणहरु छलफल गर्न खोजेको हैन । त्यो काम अरु धेरै विद्धानहरुले गरिरहेका छन् । यस कामलाई म विश्लेषकहरु र सम्बन्धित दलहरुकै जिम्मामा छोड्दै अर्को एक महत्वपूर्ण सवालतर्फ ध्यान केन्द्रित गर्न चाहन्छु ।

यस निर्वाचनमा नराम्रोसँग पराजय व्यहोरेपछि राष्ट्रिय राजनितिमा नेपाली कांग्रेसको औचित्य सकिएको हो त भन्ने प्रश्न उठेको छ । सामाजिक सञ्जालका भित्ताहरु चहार्ने क्रममा, धेरै जनाले कांग्रेस अब खिइँदै जाने र प्रजा परिषदको हालतमा पुग्ने भविष्यवाणि गरेको पाएँ । नेपालमा सम्पन्न भएका निर्वाचनका नतिजाहरु केलाउँदै जाँदा हरेक निर्वाचनमा कांग्रेसले पाएको पपुलर मत घट्दै गएको देख्दा ट्रेण्ड विश्लेषणले पनि यो आशंका सत्य सावित हुन्छ कि जस्तो लाग्छ ।

धेरै जनाले कांग्रेस अब पनि नसुध्रिने हो भने सकिने भविष्यवाणि गरेका छन् । यी भविष्यवाणिका पछाडी कति तार्किक आधारहरु जोडिएका छन् थाहा नभए पनि मैले यसमा सत्यता देखेको छु । २००४ सालमा गठन भएर राणाशाही, निरंकुश राजतन्त्र र कम्युनिस्ट विद्रोह जस्ता लोकतन्त्रमाथीका खतराहरु विरुद्ध लड्दै, संघर्ष गर्दै आएको यो लोकतान्त्रिक दल भविष्यको कुनै विन्दुमा विलुप्त भएर जानेछ भन्ने सोच्दा मात्र पनि निकै दुःख लागेर आएको छ ।

कांग्रेसको औचित्य अब के सकिएकै हो त ? देशका हरेक राजनैतिक परिवर्तनको नेतृत्व गरेको यो दल के अब कमजोर बन्दै गएको हो त ?  अहिले नै कांग्रेस सकिसक्यो भनेर अनुमान गर्नु भने हतार हुनेछ । हो, कांग्रेस अहिले ईतिहासमै सबैभन्दा ठूलो संकटमा छ । यसपछाडी कांग्रेसले कस्तो कदम लिनेछ, त्यसले यसको भविष्य निर्धारण गर्नेछ । सामाजिक संजालमा एक युवाको विचार यस्तो थियो, के विपि बाँचेका भए अहिले उनले कांग्रेसलाई भोट दिन्थे होला ? कांग्रेस एजेण्डा विहिन, दिशा विहिन, विचार विहिन हुँदै गइरहेको परिप्रेक्ष्यमा गरिएको यो व्यंगय साँच्चै मार्मिक छ ।

नेपाली कांग्रृेसको औचित्य सकिनुहूँदैन । जन्मे देखि नै लोकतन्त्रको रक्षार्थ संघर्ष गरिरहेको यो पार्टीको असफलता समपूर्ण लोकतन्त्रप्रति आस्था राख्ने जनमनको असफलताको रुपमा चित्रित हुने छ । यो पार्टी खराब होइन । यसका सिद्धान्त खराब छैनन् । भएको के हो भने, यसको नेतृत्व असक्षम, विचार विहिन, भिजन विहिन व्यक्तिहरुको हातमा पुगेको छ । हिजोका दिनमा कमाउवादीहरुले यसको लोकप्रियताको व्याज खाएको सत्य हो । कांग्रेसमा लागेर व्यक्तिगत हित, स्वार्थ र अर्थोपार्जनमा लागेका भ्रष्टाचारी र व्यभिचारीहरुको बिल आज समस्त कांग्रेसको नाममा काटिएको छ ।

कांग्रेसको ईतिहास नबुझेका घन चक्करहरु आज कांग्रेसमाथी लान्छना लगाउन र यसलाई बदनाम गर्नमा व्यस्त छन् । आज यीनिहरु जुन लोकतन्त्रको अक्सिजन लिएर बाँचेका छन् , त्यो कांग्रेसले निरन्तर गरेको संघर्ष र बलिदानको प्रतिफल हो भन्ने नबुझेकाहरु यसमाथी अनेक आरोप लागाएर आफुलाई प्रगतिशिल देखाउनमा व्यस्त छन् ।

तर नेपालमा यहि एउटा दल छ, जसमाथी मानिसहरु आँखा चिम्लेर विश्वास गर्न सक्छन् । गाली पनि मानिसले आफुले सबैभन्दा बढी माया गरेका हरुलाई नै गर्छ । कसैबाट पनि पार नलागे अन्ततः नेपाल र नेपालीको हित गर्ने एक मात्र दल यही हो भन्ने पनि सबैले बुझेका छन् । केही नेताहरुको सत्ता लिप्सा, पदलोलुपता, भ्रष्ट आचरण, गलत नेतृत्व, अविवेकि निर्णयले आज पार्टि भँड्खालोमा जाकिन थाल्यो भन्ने पनि सबैलाई थाहा छ ।

तसर्थ अब कांग्रेस सुध्रिनुपर्छ । आफुलाई पुरै पुनःसंरचना गर्नु आवश्यक छन् । बदलिँदो परिवेशमा दलका एजेण्डाहरुलाई पनि पुरै रिसेट गर्नुपर्छ । दलभित्र विचार विमर्श र सैद्धान्तिक बहसको संस्कृति पुनः ब्युँताउनुपर्छ । ती एजेण्डाहरुलाई जनताका दैलौसम्म पु¥याउनुपर्छ । खराब चरित्र भएका र दलको उपयोग मात्र गर्न खोज्ने प्रवृत्तीहरुलाई गलहत्याएर निकाल्नुपर्छ । स्वच्छ आचरण भएका, उत्साह र जोश भएका, कुशल सांगठनिक क्षमता भएका, विद्धान युवा नेताहरुलाई पहिचान गरेर नेतृत्वमा लग्नुपर्छ ।

कांग्ेसको राजनैतिक भविष्य त चुनौतीपूर्ण हुने स्वतः सिद्ध नै छ । यहाँ सम्म कि चुनाव पछाडी गठन हुने बाम सरकारले लोकप्रियता हासिल गरेमा आगामी कैयौँ निर्वाचनहरुमा कांग्रेसले हार्न सक्छ । एमाले माओवादी मिलेर एक दल बनेर सरकार राम्रोसँग चलाए भने त उनीहरुको लोकप्रियता बढ्छ बढ्छ । आगामी कैयौँ वर्ष कांग्रेस सत्ता बाहिर रहनुपर्ने हुन सक्छ ।

तर पराजयपश्चात अत्तालिने दलको भविष्य कहिल्यै राम्रो हुन सक्दैन । लोकतन्त्रमा पराजय र विजय दुवै स्वाभाविक परिणम हुन् । लोकतन्त्र मात्र एक यस्तो व्यवस्था हो, जहाँ पराजित पनि विजेता हुन्छ । प्रतिपक्षिको भुमिका झनै महत्वपूर्ण र गहन हुन्छ । एक जिम्मेवार प्रतिपक्षिको भुमिका निर्वाह गर्दै सरकारले गर्न सक्ने गलत कामहरु माथी निरन्तर खबरदारी गरिरहनु कांग्रेसको अबको दायित्व हो ।

राष्ट्र हित प्रमूख हो, दलिय स्वार्थ गौण हो । राष्ट्रको समृद्धि हुन्छ, लोकतन्त्र स्थापित हुन्छ, अधिकार विहिनहरुले अधिकार पाउँछन्, राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता अक्षुण रहन्छ भने कुनै दल विशेष अस्तित्वमा नरहँदा पनि के फरक पर्छ र ? आखिर कांग्रेसले दशकौँ सम्म गरेको संघर्ष र बलिदानी पनि त यहि देशको उत्थानको लागि हो, यहि देशका जनताको अधिकारका लागि हो, कांग्रेस आफैँका लागि थोडै हो र ?

यो विचार कांग्रेस हारिसक्यो भन्ने पृष्ठभुमिमा लेखिएको होइन । समानुपातिक तर्फको नतिजा पनि आइसक्दा पपुलर मतमा कांग्रेस देशकै ठूलो दल बन्न पिन सक्छ । तर अबको पाँच वर्ष कांग्रेस सरकार बाहिर हुने निश्चित प्रायः छ । यो विचारको आशय, सरकार बाहिर रहेर पनि कांग्रेसले लोकतन्त्रको रक्षा गर्न सक्छ भन्ने हो । सत्तास्वार्थमा केन्द्रित भएर फेरि माओवादी र एमाले असमझदारीमा खेल्ने, टुट फुटको राजनिति गर्ने, बाह्य प्रभु शरणं गच्छामी गर्ने नगरोस भनेर हो । त्यसो गरेमा नेपाली कांग्रेसको अवसान निकट भविष्यमै हुनेछ । सबैलाई चेतना भया ।

-कपिल सिलवाल
silwal892@gmail.com
facebook.com/mr.silwal
follow me on twitter, @kapilsilwal007

2 comments: